निष्ठा र सिद्धान्तले कम्युनिष्ट आन्दोलन अझ बलियो बनाउनुपर्छः ईश्वर पोखरेल

निष्ठा र सिद्धान्तले कम्युनिष्ट आन्दोलन अझ बलियो बनाउनुपर्छः ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई थप बलियो बनाउनुपर्ने बताएका छन् ।

नेकपा एमालेका पूर्व अध्यक्ष एवं प्रथम कम्यूनिष्ट प्रधानमन्त्री अधिकारीको २७ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै पोखरेलले विभिन्न कार्यक्रम र गतिविधिलाई अगाडि बढाएर आन्दोलनमा बल पुर्याउनुपर्ने बताएका हुन् ।

ललितपुरको सानेपामा आइतबार विहान आयोजित कार्यक्रममा पोखरेलले अधिकारीले सिकाएको बाटोमा अघि बढ्न सके कम्युनिष्ट आन्दोलन कहिलै कमजोर नहुने बताए ।

एमालेका पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेका पोखरेलले अधिकारी जस्तोसुकै प्रतिकूलतामा पनि निष्ठामा कायम रहेको बताए । अधिकारीको विचार र मागदर्शन सबैका लागि सधैँभरी अनुकरणीय भएको पोखरेलको भनाइ छ ।

कम्युनिष्ट आन्दोलनका विद्यार्थीले अधिकारीले सिकाएको निष्ठालाई पालना गर्नुपर्ने पोखरेलको सुझाब छ । कम्युनिष्ट पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुँदा मात्र नभै अन्य अप्ठ्यारा अवस्थामा पनि निष्ठाबाट नचुकेको पोखरेलको भनाइ छ ।

हेलिकप्टर दुर्घटनामा परेर स्वास्थ्यमा समस्या हुँदा पनि विचलित नभएको पोखरेलले स्मरण गरे । अधिकारी सहजतामा मात्तिने र असहजतामा आत्तिने बानी नरहेको बताए ।

नेपालको राणा शाषन अन्त्यका लागि भारतीय स्वतन्त्रता संग्राम सफल बनाउनुपर्छ भन्ने मान्यता अधिकारीमा रहेको पोखरेलले स्मरण गरे । भारतमा रहेको अग्रेज शाषन हटाउन अधिकारीले खेलेको भूमिका निकै सकारात्मक रहेको पोखरेलको दाबी छ ।

नेपालमा सामाजिक सुरक्षाको अभियान थालनी गरेका अधिकारीको चुनावी अभियानकै क्रममा ०५६ साल वैशाख १३ गते निधन भएको थियो । काठमाडौंको गोठाटारमा आयोजित एक कार्यक्रममा अचानक बेहोस भएपछि उपचारकै क्रममा अधिकारीको निधन भएको थियो ।

अधिकारी ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो भने २०५१ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । २०५१ सालमा कम्युनिष्टको अल्पमतको सरकारको नेतृत्व गरेका थिए ।

वाम तथा प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष अधिकारीले नेपालको इतिहासकै स्वच्छ प्रधानमन्त्रीका रुपमा ९ महिने सरकारको नेतृत्व गरेका थिए । अधिकारी ०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनबाट महासचिव पदमा निर्वाचित भएका थिए ।

नेपालमा पहिलोपटक अधिकारी नेतृत्वको सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक भत्ताको व्यवस्था गरेको थियो ।

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

कार्यक्रममा एमालेका नेता प्रदिप ज्ञवालीले पार्टीका पूर्व अध्यक्ष मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्न सक्ने नेता भएको बताएका छन् ।

उनले २०४७ सालमा तत्कालीन नेकपा माले र माक्सर्वादीको एकता गर्दा ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर नेतृत्वमा युवालाई स्थापित गर्नुपर्छ भन्ने सन्देश दिएको बताए ।

‘आफू ६९ वर्षको भए पनि ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर मनमोहनले युवालाई विश्वासमा लिएर एमालेलाई उठाउनुभयो’ ज्ञवालीले भने ‘पुस्ता पुस्ताबिचको अतिवादी सोचलाई एमालेले अनुभव र जोसको संयोजनको अभ्यास गरेको थियो ।’

ज्ञवालीले अहिलेको केही राजनीतिमा पुस्ताको अतिवादी सोच हाबी भएको बताउँदै उनले परिपक्वको मार्गदर्शन र युवाको ऊर्जाको संयोजनबाट मात्र देश बन्ने स्पष्ट पारे ।

अधिकारी निष्ठा, सरलता र इमानदारिताको पर्याय भएको बताउँदै ९ महिना प्रधानमन्त्री बन्दा कहिलै बिर्सन नसक्ने काम गरेको स्मरण गरे । ७८ वर्ष लामो जीवनमा अधिकारी निष्ठाबाट विचलित नभएको ज्ञवालीको भनाइ छ ।

ज्ञवालीले नेपालको कम्यूनिष्ट आन्दोलनलाई इतिहासमा नै ठुलो धक्का लागेको र संकटको अवस्थामा पुगेको स्पष्ट पारेका छन् । उनले फागुन २१ को निर्वाचनबाट कम्यूनिष्ट मात्र नभई समग्र लोकतान्त्रिक शक्तिले नै अकल्पनीय धक्का खाएको उनको भनाइ छ ।
तर नेपालमा फेरी कम्युनिष्ट आन्दोलन बलियो भएर उदाउने ज्ञवालीको दाबी छ । कुनै पनि आन्दोलन, विचार, शक्ति वा नेतृत्व सधैँका लागि पलायन नहुने उनको भनाइ छ ।

निर्वाचनपछि बनेको सरकारका गतिविधिले देश बिस्तारै निर्वाचित सर्वसत्तावादतिर जाने हो कि भन्ने चिन्ता थपिएको ज्ञवालीको भनाइ छ ।

‘निर्वाचित सर्वसत्तावादतिर देश जान्छ कि भन्ने चिन्ता छ’ उनले भने ‘सरकारले ट्रेड युनियन खारेज गर्ने पञ्चायती निरंकुशतासँग लडेको विद्यार्थी संगठन खारेज, स्वतन्त्र मिडियाको स्रोत नै सुकाइदिने कुराले शंक गर्ने प्रशस्त ठाउँ दिएको छ ।’

कार्यक्रममा अमृत बोहोरा, केशब बडाल, रघुजी पन्त, स्वर्गीय अधिकारीका परिवारलगायतको सहभागिता रहेको थियो ।

Tokha