काठमाडौं । नेकपा एमालेभित्र पार्टीको नीति, विचार, संगठन र नेतृत्वमा व्यापक सुधारको आवश्यकता औँल्याउँदै ‘नेकपा (एमाले) रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान–२०८२’ ले देशव्यापी गतिविधि तीव्र बनाएको छ।
चुनावी समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी बहस चलिरहेका बेला अभियानले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै विशेष अपिल जारी गरेको छ। अपिलमा पार्टी पुनर्गठनको पक्षमा विभिन्न तहका पदाधिकारी र कार्यकर्ताको समेत समर्थन रहेको दाबी गरिएको छ।
अभियानका अनुसार एमालेले पछिल्ला वर्षहरूमा आफ्नो ऐतिहासिक छवि, जनआधार र राजनीतिक प्रभाव गुमाउँदै गएको छ। संस्थापक नेता पुष्पलालले देखाएको सपना र जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ को मूल मर्म कमजोर बन्दै गएको उल्लेख गर्दै वर्तमान नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाइएको छ।
अपिलमा पार्टीभित्र आन्तरिक लोकतन्त्र खुम्चिँदै गएको, नेतृत्वमा अहंकार र एकाधिकारवादी प्रवृत्ति बढेको तथा निर्वाचनमा व्यहोर्नुपरेका असफलताप्रति कसैले जिम्मेवारी नलिएको आरोप लगाइएको छ। विशेषगरी पछिल्लो निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर प्रदर्शन गरेको र राजधानीका धेरै क्षेत्रमा पराजित हुनुपरेको अवस्थालाई नेतृत्वको असफलतासँग जोडिएको छ।
अभियानले पुरानो पुस्ताको निष्क्रियता र नयाँ पुस्ताको वैदेशिक पलायनका कारण पार्टीको वैचारिक तथा संगठनात्मक शक्ति कमजोर बन्दै गएको जनाएको छ।
पार्टीलाई पुनर्जीवित र सशक्त बनाउन अभियानले नेतृत्व परिवर्तनलाई पहिलो आवश्यकता ठहर गरेको छ। साथै कुनै पनि व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था, संगठनका विभिन्न तहमा कम्तीमा ४० प्रतिशत युवाको सहभागिता, नेतृत्व तथा उम्मेदवार छनोटमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने माग अघि सारेको छ।
त्यसैगरी नीति निर्माण तहका नेताका लागि न्यूनतम स्नातक तहको शैक्षिक योग्यता हुनुपर्ने तथा नेताहरूको जीवनशैली र व्यवहार पारदर्शी हुनुपर्ने सुझाव पनि अभियानले दिएको छ।
अपिलमा वर्तमान नेतृत्वलाई लक्षित गर्दै पार्टीको भविष्य निर्धारण गर्ने महत्वपूर्ण मोडमा रहेको उल्लेख गरिएको छ। नेतृत्वले अहिले लिने निर्णयले भविष्यमा आफूलाई इतिहास निर्माण गर्ने व्यक्तित्व वा आन्दोलनको अवसानको जिम्मेवार पात्रका रूपमा स्थापित गर्ने चेतावनीसमेत दिइएको छ।
अभियानमा आबद्ध नेताहरूले पार्टीलाई पुनः जनमुखी, लोकतान्त्रिक र सशक्त बनाउन सबै तहका नेता–कार्यकर्ताले खुलेर आफ्नो धारणा राख्नुपर्ने र रूपान्तरणको पक्षमा उभिनुपर्ने बताएका छन्।
































