सरकारले राज्य संयन्त्र दुरुपयोग गरेर आतंक सिर्जना गर्‍यो : ज्ञानेन्द्र शाही

सरकारले राज्य संयन्त्र दुरुपयोग गरेर आतंक सिर्जना गर्‍यो : ज्ञानेन्द्र शाही

प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि सिटबेल्ट नलगाएको कारबाही गर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राज्य संयन्त्रको दुरुपयोग गर्दै आतंक सिर्जना गरेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले सञ्चारमाध्यमका कार्यालय र प्रतिपक्षी नेताका घरअगाडि अवैध रूपमा सवारीसाधन पार्किङ गराउने, त्यसको भिडियो सामाजिक सञ्जालमा फैलाउने तथा ‘अल्गोरिदम’ प्रयोग गरेर जनमत प्रभावित पार्ने प्रयास भइरहेको दाबी गरे।

उनले यस्ता गतिविधिले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने भन्दै इतिहासमा कालो अध्यायका रूपमा दर्ज हुने टिप्पणी गरे।

शाहीले हिजो सिंहदरबारभन्दा नागरिकको जीवन महत्वपूर्ण भन्नेहरू अहिले नागरिकको जीवनभन्दा नियमलाई ठूलो ठान्न थालेको आरोप पनि लगाए।

ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणमाथि कारबाही हुने तर प्रधानमन्त्री र गृहमन्त्रीमाथि समान मापदण्ड लागू नहुने किन भन्ने प्रश्न उठाउँदै उनले सिटबेल्ट नलगाई यात्रा गरेको आरोपमा प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत कानुनअनुसार कारबाही गर्न माग गरे।

कर्णालीमा भिरमा अड्किएका नागरिकको समयमै उद्धार हुन नसक्दा मृत्यु भएको घटनामा सरकारसँग जवाफ माग्दा आफूहरूमाथि राजनीतिकरणको आरोप लगाइएको उल्लेख गर्दै शाहीले राजनीतिकरणको वास्तविक अर्थ सरकारकै गतिविधिबाट देखिएको दाबी गरे।

आफ्ना कार्यकर्तामार्फत सञ्चारमाध्यमका कार्यालय र प्रतिपक्षी नेताका घरअगाडि अवैध पार्किङ गराउने, त्यसको भिडियो सार्वजनिक गर्दै जनमत प्रभावित पार्ने प्रयासलाई राजनीतिकरणको उदाहरणका रूपमा उनले प्रस्तुत गरे।

त्यसैगरी विगतका विभिन्न राजनीतिक गतिविधि, आन्दोलन र सत्तामा पुगेपछिको व्यवहारलाई पनि उनले राजनीतिकरणको उदाहरण भन्दै सरकारको आलोचना गरे।

Tokha