महाधिवेशन स्वागतयोग्य, तर पार्टीभित्र सुधार आवश्यक : राप्रपाका पूर्वअध्यक्षहरू

महाधिवेशन स्वागतयोग्य, तर पार्टीभित्र सुधार आवश्यक : राप्रपाका पूर्वअध्यक्षहरू

निष्पक्ष महाधिवेशनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीभित्र देखिएको बेथिति, पूर्वाग्रहपूर्ण कारबाही तथा विधानविपरीत गतिविधिको विरोधस्वरूप हालै सम्पन्न केन्द्रीय समिति बैठक बहिष्कार गरेको बताएका छन्।

तीनै पूर्वअध्यक्षले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै असार ५ र ६ गते काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकमा अनुपस्थित रहनुको कारण सार्वजनिक गरेका हुन्। उनीहरूले पार्टीप्रतिको आफ्नो प्रतिबद्धता यथावत् रहेको उल्लेख गर्दै लामो समयदेखि पार्टीभित्र देखिएका विकृति र विसंगतिमा सुधार ल्याउने प्रयास सफल नभएपछि साङ्केतिक विरोधस्वरूप बैठकमा सहभागी नभएको स्पष्ट पारेका छन्।

वक्तव्यमा पार्टीभित्र सङ्कुचित सोच, विधान र स्थापित परम्पराविपरीतका गतिविधि तथा जथाभावी र पक्षपातपूर्ण ढंगले कारबाही गर्ने प्रवृत्तिले कार्यकर्तामा निराशा बढाएको उल्लेख गरिएको छ। अनुशासनका नाममा पूर्वाग्रह, प्रतिशोध वा व्यक्तिगत आग्रहका आधारमा कारबाही गर्नु उचित नहुने उनीहरूको भनाइ छ।

पूर्वअध्यक्षहरूले राप्रपा अहिले वैचारिक, सङ्गठनात्मक तथा रणनीतिक रूपमा चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै पार्टीलाई सशक्त राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न यथाशीघ्र स्वतन्त्र, निष्पक्ष र विश्वसनीय महाधिवेशन आवश्यक रहेको बताएका छन्। केन्द्रीय समिति बैठकमा कार्यसमिति बाहिरका व्यक्तिहरूलाई सहभागी गराउने अभ्यासप्रति समेत उनीहरूले असन्तुष्टि जनाएका छन्।

पार्टीभित्र बढ्दो अविश्वास र निराशाको वातावरण अन्त्य गर्न अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत रहने उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन्। साथै, पार्टी निर्माणमा योगदान पुर्‍याएका पूर्वअध्यक्षहरूमाथि आरोप र लाञ्छना लगाउने प्रवृत्ति दुःखद र अस्वीकार्य भएको उल्लेख गरेका छन्।

यद्यपि, आगामी २०८३ मङ्सिर २६ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने निर्णयलाई भने उनीहरूले स्वागत गरेका छन्। पार्टीको स्थापित परम्पराअनुसार महाधिवेशनको मिति घोषणा भइसकेपछि वर्तमान केन्द्रीय समिति स्वतः महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुनुपर्ने उनीहरूको धारणा छ।

वक्तव्यमा आफूहरू कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा गुटगत राजनीतिबाट प्रेरित नभएको स्पष्ट पारिएको छ। पार्टी कमजोर बन्ने वा पतन हुने अवस्था आउन नदिन आफूहरू चिन्तित रहेको उल्लेख गर्दै पूर्वअध्यक्षहरूले पार्टी छाडेर गएका नेता–कार्यकर्तालाई पुनः फर्किन तथा अन्योलमा रहेका कार्यकर्तालाई महाधिवेशनको तयारीमा सक्रिय हुन आह्वान गरेका छन्।

उनीहरूले आगामी महाधिवेशनले हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको अवधारणालाई केन्द्रमा राखेर सुशासन, राजनीतिक स्थिरता, राष्ट्रिय एकता र आर्थिक समृद्धिको स्पष्ट कार्यदिशा प्रस्तुत गर्नुपर्ने बताएका छन्। त्यस्तो वैचारिक मार्गदर्शन र व्यवहारिक कार्ययोजनाले मात्रै राप्रपाले जनविश्वास पुनः प्राप्त गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो प्रभावकारी भूमिका स्थापित गर्न सक्ने उनीहरूको निष्कर्ष छ।

Tokha