काठमाडौं, मंसिर ६ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक उपाधि उचालेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । लुम्बिनीका दिलीप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ र अली शेखले २४ रन बनाए । सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए ।
१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले उत्कृष्ट ब्याटिङ गर्दै १३.३ ओभरमै बिना विकेटको क्षतिमा १५८ रन बनायो । टोलीको जितमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले विस्फोटक शतकीय पारी खेले । उनले ५४ बलमा अविजित १२५ रन बनाउने क्रममा ८ चौका र १२ छक्का प्रहार गरे ।
अर्का ओपनर विनोद भण्डारीले अविजित ३० रन बनाए । मुन्से र भण्डारीबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भयो । मुन्सेको आक्रामक ब्याटिङसामु लुम्बिनीका कुनै पनि बलर सफल हुन सकेनन् ।
यस जितसँगै सुदूरपश्चिमले लगातार दुई संस्करणको फाइनलमा भोगेको हारको शृङ्खला तोड्दै तेस्रो प्रयासमा उपाधि जितेको छ । प्रतियोगितामा आठ टोली सहभागी थिए ।


































