नयाँ ऊर्जा र नयाँ सोचसहित कांग्रेस केन्द्रीय सदस्यमा सुशील भट्टको दाबी

नयाँ ऊर्जा र नयाँ सोचसहित कांग्रेस केन्द्रीय सदस्यमा सुशील भट्टको दाबी

‘इतिहास सम्झिने होइन, इतिहास बनाउने पुस्तासँग अघि बढौँ’

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. ७ का महाधिवेशन प्रतिनिधि सुशील भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्दै पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने लक्ष्यसहित आफूले उम्मेदवारी दिएको भट्टले बताएका छन्।

आइतबार उम्मेदवारी घोषणा गर्दै भट्टले आफ्नो अभियानमा कांग्रेसका इमानदार कार्यकर्ताको विश्वास, परिवर्तन चाहने युवाको आवाज तथा अग्रज पुस्ताको अनुभव र मार्गदर्शनलाई आधार बनाएको उल्लेख गरे। उनले सिंगो कांग्रेसलाई नै आफ्नो टिमका रूपमा लिएको बताएका छन्।

भट्टले आफूलाई कांग्रेसको ‘जरा’सँग तुलना गर्दै पार्टीलाई बलियो बनाउन पद र प्रचारभन्दा संगठनको आधार बलियो बनाउने काममा केन्द्रित हुने प्रतिबद्धता जनाए।

“म जरा नै रहिरहूँ, कांग्रेसको रुख अझ बलियो बनोस्।”

उनको उम्मेदवारी कुनै एक पुस्ताको प्रतिनिधित्व मात्र नभएको दाबी छ। ‘बा’देखि युवासम्म, दाइदेखि एआईसम्मलाई जोड्ने ‘डिभाइस’ बन्न चाहेको उल्लेख गर्दै भट्टले परम्पराको सम्मान गर्दै परिवर्तनको बाटो रोज्नु आफ्नो अभियानको मूल उद्देश्य भएको बताए।

“अब कांग्रेसलाई केवल इतिहास सम्झिने होइन, इतिहास बनाउने पुस्तासँगै अघि बढाउने समय हो।”

भट्टले कांग्रेसलाई कार्यकर्ताले चाहेजस्तो पार्टी बनाउन आफूले भाषण र आश्वासनभन्दा कामलाई प्राथमिकता दिने बताए। संगठनभित्र पुस्ताबीचको दूरी घटाउँदै अनुभव र नयाँ सोचलाई सँगसँगै अघि बढाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

उनले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफूले अघि सारेको उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिहरूको माया, विश्वास, साथ र शुभेच्छाले अनुमोदन गरिदिन अपिलसमेत गरेका छन्।

भट्टको उम्मेदवारीलाई उनले ‘पदका लागि प्रतिस्पर्धा’ भन्दा पनि कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा, अग्रजको अनुभव र प्रविधिसँग जोड्ने अभियानका रूपमा प्रस्तुत गरेका छन्।

Tokha