काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज एकै मञ्चमा देखिने भएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा उनीहरू सहभागी हुन लागेका हुन्।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता रहने तालिका छ। साथै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले पनि कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
दुई दिनअघि, असार १२ गते विराटनगरमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले एमालेसँग सहकार्यको सम्भावना रहेको अभिव्यक्ति दिएका थिए। त्यसको केही दिनपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उपस्थित हुने भएकाले आजको कार्यक्रमलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

































