काठमाडौं । मिडिया हाउस र प्रमुख प्रतिपक्षी नेताको घरअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनालाई लिएर प्रतिनिधिसभामा मंगलबार चर्को बहस भएको छ। विपक्षी दलहरूले उक्त घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको हस्तक्षेप र मानसिक त्रास सिर्जना गर्ने प्रयासको संज्ञा दिएका छन् भने सत्तापक्षले केही अभिव्यक्तिप्रति नियमापत्ति जनाएको छ।
नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले मिडिया क्षेत्र र राजनीतिक नेतृत्वलाई लक्षित गरेर सवारीसाधन तेर्स्याउने कार्यले पञ्चायतकालीन मण्डलेतन्त्रको राज्य आतंकको झझल्को दिलाएको बताए। उनले हेर्दा सामान्य देखिए पनि यस्ता गतिविधिले लोकतान्त्रिक प्रणालीप्रति गम्भीर संकेत गर्ने धारणा राखे।
गत सोमबार बिहान अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसका कार्यालय प्रवेशमा अवरोध हुने गरी शंकास्पद रूपमा गाडी पार्किङ गरिएको थियो। घटनापछि सम्बन्धित सञ्चारमाध्यमले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले गाडीधनीबारे सोधपुछ गरे पनि घटनाको वास्तविक जिम्मेवार को हो भन्ने विषय अझै खुल्न सकेको छैन।
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारमाथि राज्य संयन्त्र दुरुपयोग गरी आतंक सिर्जना गरेको आरोप लगाए। उनले मिडिया हाउस र प्रतिपक्षी नेताका घरअगाडि अवैध रूपमा पार्किङ गराउने, त्यसको भिडियो सामाजिक सञ्जालमा फैलाउने तथा ‘अल्गोरिदम’ प्रयोग गरेर जनमत प्रभावित पार्ने प्रयास भइरहेको दाबी गरे। कर्णालीमा उद्धार अभावका कारण नागरिकको मृत्यु भएको घटनामा सरकारसँग जवाफ माग्दा आफूहरूमाथि राजनीतिकरणको आरोप लगाइएको भन्दै उनले सरकारको आलोचना पनि गरे।
नेपाली कांग्रेसका संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कसैले प्रश्न गर्न नपाउने शैलीमा अघि बढिरहेको आरोप लगाए। उनले सरकार अनधिकृत नेटवर्कमार्फत सञ्चालन भइरहेको दाबी गर्दै कांग्रेस सभापति गगन थापाको घर तथा सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी तेर्स्याउने घटना लोकतान्त्रिक मूल्यविपरीत रहेको बताए।
राईले प्रधानमन्त्रीलाई ‘श्री ८’ भनेर सम्बोधन गरेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवजी यादवले नियमापत्ति जनाए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा यस्तो सम्बोधन संविधानको भावना विपरीत रहेको भन्दै उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गरे।
रास्वपाका सांसद अमरेशकुमार सिंहले भने देशमा बढ्दो निराशा र संकटको अवस्थालाई ध्यानमा राख्दै संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई राष्ट्रिय मुद्दामा एकजुट हुन आग्रह गरे। उनले राज्य र लोकतन्त्र जोगाउन दलहरूबीच अनावश्यक घोचपेचभन्दा सहकार्य आवश्यक रहेको बताए। आत्मदाह प्रयासपछि ज्यान गुमाएका नागरिकप्रति उनले श्रद्धाञ्जलीसमेत व्यक्त गरे।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले विगतमा दिएको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन आफूले गरेको माग लामो समयसम्म सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाए। उनले प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्तिको प्रसंग उठाउँदै त्यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए। साथै सरकारले गरिब, श्रमिक, पठाओ राइडर, सुकुम्बासी तथा साना उद्यमीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाउँदै करार र ज्यालादारी कर्मचारीका सेवा–सुविधा सर्वोच्च अदालतको आदेशअनुसार सुनिश्चित गर्न सरकारसँग माग गरे।
मिडिया हाउस र राजनीतिक नेतृत्वलाई लक्षित गरी भएको शंकास्पद पार्किङको घटनाले संसद्मा अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक अभ्यास, राज्य संयन्त्रको प्रयोग तथा राजनीतिक उत्तरदायित्वका विषयमा पक्ष–विपक्षबीच तीखा आरोप–प्रत्यारोप गराएको छ। घटनाको वास्तविक जिम्मेवारबारे भने प्रहरीले अझै निष्कर्ष सार्वजनिक गरेको छैन।


































