काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेनबाट केन्द्रीय सदस्यमा भारी मत ल्याएर विजयी भएकी अस्मिता थापा जेनजी पुस्ताको प्रतिनिधित्व गर्ने नाम हो । सानै उमेरदेखि इमानदरिताको परिचय बनाएकी थापा यसअघि नै ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्षमा निर्वाचित भइसकेकी युवा पुस्ताकी नेतृ हुन् ।
थापा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा सक्रिय भएकै बेलामा ०७९ को निर्वाचनमा लिखु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन् । एकपछि अर्को सफल कर्मले उनलाई अगाडि बढाइरहेको छ । यसैको नतिजास्वरुप एमालेले उनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा एमालेले थापालाई टिकट दिएको हो । नी जिल्लामै प्रभावशाली युवा नेतृको रुपमा परिचित छिन् । थापा एमालेबाट टिकट पाउँने सबैभन्दा कान्छो उम्मेदवार बनेकी छन् ।
पछिल्लो समय जेनजी पुस्ताको भावनाको कदर गर्नुपर्ने आवाज बुलन्द भइरहेका बेला थापाको उम्मेदवारीले उक्त मागलाई सम्बोधन गरेको छ । गत भदौमा भएको जेनजी आन्दोलनपछि युवा नेताहरूले नयाँ सोच, नवीन रणनीति र इमान्दार नेतृत्वको आवश्यकता औंल्याउँदै आएका छन् । यसै सन्दर्भमा थापाको उम्मेदवारी निकै अर्थपूर्ण देखिन्छ ।
सानै उमेरदेखि सार्वजनिक जीवनमा सक्रिय थापाले ओखलढुंगाको लिखु गाउँपालिकाको उपाध्यक्ष भएर नेतृत्व र जनसेवामा आफ्नो क्षमता प्रमाणित गरिसकेकी छिन् । अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरी, लगातार सफलता हासिल गर्दै आएको उनको यात्रा जेनजी पुस्ताका लागि प्रेरणादायक उदाहरण बनेको छ ।
एमालेले उनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउनु केवल पार्टीको रणनीति मात्र नभई युवा भावनाको सम्मान र प्रतिनिधित्व सुनिश्चित गर्ने कदम पनि हो ।
थापाको उम्मेदवारीले युवा पुस्तालाई राजनीतिमा ल्याउने बहसलाई सशक्त गति दिने सम्भावना छ । यसले पुराना संरचनामा नयाँ विचार र नवप्रवर्तनको प्रवेश सुनिश्चित गर्ने मात्र नभई युवालाई निर्णायक भूमिकामा सहभागी गराउने वातावरण पनि तयार पार्छ ।
अन्ततः अस्मिता थापाको उदाहरणले देखाउँछ कि नेपाली राजनीति अब केवल अनुभव र आयुमा आधारित नेतृत्वमा सीमित छैन, बरु उत्साह, क्षमता र नवीन दृष्टिकोण भएको युवा नेतृत्वको मागलाई ध्यानमा राख्दै अघि बढिरहेको छ ।

































