काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मेयर बालेन शाहको राजीनामापछि कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छिन् ।
स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार प्रमुख पद खाली भएमा स्वत: उपमेयरले कार्यबाहकको जिम्मेवारी पाउने व्यवस्था छ । यसै व्यवस्था अनुसार डंगोलले महानगरपालिकाको कार्यकारी जिम्मेवारी सम्हालेकी हुन् ।
प्रमुख शाहले राजीनामा दिने बित्तिकै रास्वपा कार्यालय पुगेका थिए। उनले झापा-५ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । राजीनामा बुझाउने प्रक्रिया र निर्णयका विषयमा केही समय दोधारमा परेको कारण दिउँसो १ बजे हुने भनिएको कार्यक्रममा ढिला भएको थियो ।
रास्वपा कार्यालयमा शाहका कार्यकर्ता र शुभचिन्तकहरूको भीड उपस्थित थियो । बालेन शाह हाल पार्टीका वरिष्ठ नेता समेत हुन् र आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवारको रूपमा मैदानमा हुने तयारीमा छन् ।

































