नेपाली कांग्रेस विवाद निर्वाचन आयोगसम्म, देउवा समूह पनि आयोगमा उपस्थित

नेपाली कांग्रेस विवाद निर्वाचन आयोगसम्म, देउवा समूह पनि आयोगमा उपस्थित

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद अब निर्वाचन आयोगसम्म पुगेको छ । पार्टीभित्रको शक्ति संघर्ष कानुनी र औपचारिक मान्यताको चरणमा प्रवेश गरेको हो ।

गत बुधबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना गर्दै नयाँ कार्यसमिति घोषणा गरिएपछि कांग्रेस औपचारिक विभाजनको अवस्थामा पुगेको देखिएको छ । उक्त समूहले बिहीबार निर्वाचन आयोग पुगेर आफूहरूलाई आधिकारिक नेतृत्वका रूपमा मान्यता दिन आग्रह गरेको थियो ।

यसैबीच, शुक्रबार संस्थापन पक्षका नेता तथा सभापति शेरबहादुर देउवा नेतृत्वको समूह पनि आयोग पुगेको छ । गगन-विश्वप्रकाश पक्षको दाबीलाई चुनौती दिन देउवा निकट नेताहरू बिहानैदेखि कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा भेला भएका हुन् ।

आयोग पुग्ने नेताहरूमा विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ र जीतजंग बस्नेत लगायत रहेका छन् । उनीहरूले निर्वाचन आयुक्तहरूसँग भेट गरी विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै हालको केन्द्रीय कार्यसमिति नै वैधानिक र आधिकारिक रहेको स्पष्ट पार्ने तयारी गरेका छन् ।

नेपाली कांग्रेसको आन्तरिक विवादले अब कुन पक्षलाई आयोगले मान्यता दिन्छ भन्ने विषयले पार्टीको भविष्य निर्धारण गर्ने देखिएको छ ।

Tokha