काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन । काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न मतदानको अन्तिम परिणामअनुसार ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई ११०० मतको फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा ‘ह्याट्रिक’ गरेका हुन्।
निर्वाचन आयोगका अनुसार कुल २,२२७ मत खसेकोमा ओलीले १,६६३ मत प्राप्त गर्दा पोखरेलले ५६३ मत मात्रै प्राप्त गरे । यो जितसँगै एमालेको नेतृत्वमा ओलीले तेस्रो कार्यकालका लागि आफ्नो स्थान सुरक्षित गरेका छन् ।
उपाध्यक्षमा गुरुङको सर्वाधिक मत
उपाध्यक्ष पदको मतगणनामा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा धेरै १७३७ मत प्राप्त गरी विजयी भएका छन् । अन्य विजयी उपाध्यक्षहरूमा विष्णुप्रसाद पौडेल (१६७५ मत), रामबहादुर थापा ‘बादल’ (१५१६ मत), गोकर्ण विष्ट (१३६८ मत) र रघुजी पन्त (१२५८ मत) रहेका छन्।
उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई
तीन उपमहासचिव पदका लागि भएको निर्वाचनमा लेखराज भट्ट १४५२ मतका साथ पहिलो भएका छन् । यस्तै, रघुवीर महासेठले १३६८ र योगेश भट्टराईले १३४८ मत प्राप्त गर्दै विजयी भएका छन् ।
सचिवमा ओली प्यानलको ‘क्लिन स्विप’
सचिव पदको निर्वाचनमा केपी ओली पक्षधर उम्मेदवारहरूको पूर्ण बर्चस्व देखिएको छ । सचिवमा विजयी हुने ९ नेताहरू यस प्रकार छन् : सचिव पदमा महेश बस्नेत १५४४ मतसहित सबैभन्दा अगाडि छन् । अन्य विजयी उम्मेदवारहरूमा छविलाल विश्वकर्मा १५०६ मत, पद्माकुमारी अर्याल १५३० मत, शेरधन राई १५०३ मत, हिक्मतकुमार कार्की १३३७ मत, खगराज अधिकारी १२३१ मत, यामलाल कँडेल ११८५ मत, राजन भट्टराई ११८१ मत र भानुभक्त ढकाल ११०८ मतसहित निर्वाचित भएका छन्।
अन्य उम्मेदवारहरूले क्रमशः गोकुल प्रसाद बास्कोटा १०३०, ठाकुर प्रसाद गैरे ८८३, रचना खड्का ८७७, कर्णबहादुर थापा ८४७, अग्नि प्रसाद खरेल ७१६, विनोद प्रसाद ढकाल ६८४, कृष्ण गोपाल श्रेष्ठ ६२५, लालबाबु पण्डित ४९६, पेम्बा लामा ४९३, पुरूषोत्तम पौडेल ४६२ र इन्द्रलाल सापकोटा ४०५ मत प्राप्त गरेका छन् । यस परिणामले एमालेको आगामी नीति र नेतृत्वमा केपी शर्मा ओलीको पकड अझ शक्तिशाली भएको संकेत गरेको छ ।

































