काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा (एमाले) निकट युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।
संघका नेताहरू बिहीबार साइबर ब्युरो पुगेर मेयर शाहले सामाजिक सञ्जालमा लेखेको आपत्तिजनक र राजनीतिक दलप्रति अपमानजनक स्टाटसका कारण कानुनी कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका हुन् ।
साइबर ब्युरो स्रोतका अनुसार उजुरी दर्ता प्रक्रिया अघि बढिरहेको छ। ब्युरोका एक अधिकारीले भने, ‘बालेन शाहविरुद्ध आएको उजुरी दर्ता प्रक्रियामा छ, त्यसको प्रारम्भिक अध्ययन भइरहेको छ।’
मेयर शाहले कात्तिक १६ गते मध्यराति आफ्नो सामाजिक सञ्जालमा राजनीतिक दल र तिनका नेताहरूको मानमर्दन हुनेगरी लेखिएको स्टाटस सार्वजनिक गरेका थिए । उक्त पोस्ट उनले केही बेरपछि पेजबाट हटाएका थिए ।
युवा संघले भने उक्त व्यवहारलाई व्यक्तिको मर्यादाविपरीत भन्दै कारबाहीको माग गरेको छ ।

































