काठमाडौं । नेकपा एमालेले नयाँ युथ भोलिन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलामा यस फोर्सको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य पनि उपस्थित थिए।
पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार युथ भोलिन्टियर फोर्सका लागि आचारसंहिता समेत तयार गरिएको छ । बस्नेतले भने, ‘भक्तपुरमा पहिलोपटक यस फोर्सको घोषणा गरेका छौं। आगामी दिनमा ललितपुर, काठमाडौं, काभ्रे र रामेछापमा पनि विस्तार गर्ने योजना छ।’
उनका अनुसार यो युवा फोर्स निर्माणमा मधेश, पहाड र हिमालका संगठनहरूले पनि साथ दिएका छन् । बस्नेतले बताएअनुसार, केपी ओली गुण्डुमा बस्न थालेदेखि दुई महिनादेखि करिब २ हजार युवा सक्रिय रूपमा त्यहाँ खटिएका छन् र गुण्डुवासीको तर्फबाट कुनै गुनासो आएको छैन ।
फोर्समा युवा संघ, भूपू सैनिक संगठन र एमाले भक्तपुरले नेताहरूको सुरक्षा तथा समन्वयमा भूमिका खेलेका छन् । बस्नेतले विगतमा युथ फोर्सले माओवादीको आतंक हटाउन मद्दत गरेको स्मरण गर्दै, अहिले पनि सबै खालका अराजकता विरुद्ध यस फोर्सले काम गर्ने बताए ।

































