काठमाडौं । नेपाली कांग्रेसको दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक अन्तिम क्षणमा स्थगित भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अब कार्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने तय भएको छ ।
बैठक स्थगित हुने प्रमुख कारण १५औँ महाधिवेशनको मिति र कार्यतालिकालाई लिएर संस्थापन र असंस्थापन पक्षबीच विवाद रहेको हो । शनिबार सानेपामा बसेको पदाधिकारी बैठकले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको थिएन ।
बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक कार्यतालिका प्रस्ताव गरेका थिए । महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यको भोटिङ महाधिवेशनअघि गरिनुपर्छ कि पछि भन्ने प्रस्तावसमेत राखेका थिए ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्ने उद्देश्यले दुई महामन्त्रीसहित शीर्ष नेतासँग छलफलको तयारी गरिरहेका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

































