काभ्रेपलाञ्चोक । लगातारको वर्षापछि तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग फेरि सञ्चालनमा आएको छ। काभ्रेको रोशी गाउँपालिका-८ चारसयबेँसी र-११ पिप्ले क्षेत्रमा डाइभर्सन निर्माण भएपछि आइतबार बिहानदेखि सवारी सञ्चालन सुचारु भएको हो ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार बिहीबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो र लेदो बग्दा राजमार्ग अवरुद्ध भएको थियो। चारसयबेँसीको नाङ्साल क्रसरनजिक माथिबाट सुक्खा पहिरो खसिरहेकाले केही दिन सवारी सञ्चालन रोकिएको थियो ।
रोशीखोला किनारमा अस्थायी डाइभर्सन बनाएपछि आज करिब पौने १२ बजेदेखि आवागमन पुनः सुरु गरिएको कार्कीले बताए । उनले भने, ‘डाइभर्सन बनेपछि सवारी चल्न थालेको छ, तर पहिरोको जोखिम अझै कायम छ, यात्रुहरूलाई सतर्क रहन अनुरोध गरिएको छ ।’
लगातारको वर्षाका कारण चौकीडाँडा, चारसयबेँसी, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेँसी, बिरुवाडाँडा र डालाबेँसीलगायत क्षेत्रमा पहिरो र लेदो खसेर सडक अवरुद्ध भएका थिए । गत असोजमा बनेका डाइभर्सनहरू पनि पछिल्ला बाढी र लेदोले क्षतिग्रस्त पारेको थियो ।
स्थानीय प्रशासनले डाइभर्सनमार्ग प्रयोग गर्दा सवारी चालक र यात्रुलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरेको छ।

































