काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको अवसरमा शुभकामना सन्देश दिँदै अखण्ड नेपाल नवनिर्माणको आवश्यकता औँल्याएका छन्। उनले भूराजनीतिक दबाब वा परनिर्भरतामा नफसी आफ्नै बाटो तय गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने धारणा व्यक्त गरेका छन्।
पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रो राज्य व्यवस्थाले नयाँ पुस्ताको आकांक्षा र इच्छालाई समेट्नुपर्छ। विकसित प्रविधि र वैज्ञानिक दक्षतालाई ग्रहण गर्दै जनभावनालाई सम्मान गर्दै समय सापेक्ष सुधार अघि बढाउनु आवश्यक छ।’
उनले युवा पुस्ताको देशभक्ति, ऊर्जा र नवीन सोचले मात्रै राष्ट्रलाई बलियो, आत्मनिर्भर र समृद्ध बनाउने बाटोमा लैजान सक्ने बताए। उनले थपे, ‘अब बिगार्ने, भत्काउने, जलाउने तिर होइन, राष्ट्र निर्माण र समृद्धितर्फ हामीले ध्यान दिनुपर्दछ।’
पूर्वराजा शाहको यो सन्देशले आगामी दिनमा युवा पुस्ता र राज्य व्यवस्थाबीचको समन्वय आवश्यक रहेको कुरा पुनः स्पष्ट पारेको छ।

































