काठमाडौं । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै मन्त्री डा. दिनेशचन्द्र देवकोटाले मन्त्रालयको कामकाजमा नवीन दृष्टिकोण लागू गर्दै विभिन्न निर्देशन जारी गरेका छन्।
मन्त्रालयका प्रवक्ता भुपेन्द्रकुमार यादवका अनुसार, मन्त्रालयले मन्त्री पदबहालीको दिनदेखि नै कार्यान्वयन कार्यालयहरूलाई ४ मुख्य निर्देशन दिएका छन् । अबदेखि उपभोक्ता समितिमार्फत हुने निर्माण कार्यमा मितव्ययिता, गुणस्तर, दिगोपन, रोजगार सिर्जना र जनसहभागिता सुनिश्चित गरेर मात्र प्रक्रिया अघि बढाइनेछ ।
निर्माण हुने सबै संरचनामा प्रादेशिक पहिचान अंकित गर्नुपर्ने, जग्गाको स्वामित्व स्पष्ट राख्ने र स्थानीय वास्तुकलालाई प्राथमिकता दिने व्यवस्था गरिएको छ । यसले नागरिकमा स्पष्टता र विश्वास सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
जलवायु प्रकोपका कारण पूर्वाधारमा क्षति न्यून गर्न मन्त्रालयले ‘जलवायु प्रतिरोधी पूर्वाधार’ निर्माणको योजना अघि बढाएको छ। सडक, पुल र अन्य संरचनाका लागि आवश्यक मापदण्ड तय गर्न विशेषज्ञमार्फत अध्ययन भइरहेको छ ।
त्यसैगरी, व्यवस्थित वस्ती विकास र फोहर व्यवस्थापनका लागि दुई छुट्टाछुटै विशेषज्ञ टास्क फोर्स गठन गरिएको छ। यसबाट मन्त्रालयको दीर्घकालीन कार्यदिशा स्पष्ट हुने विश्वास व्यक्त गरिएको छ ।
यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक सीडीई नविनकुमार सिंहका अनुसार मन्त्रालयले निर्माण कार्यलाई नागरिकको प्रत्यक्ष लाभसँग जोड्ने, दिगो पूर्वाधारमार्फत जीवनस्तर सुधार गर्ने र दीर्घकालीन योजनासँगै बार्षिक कार्यक्रम अघि बढाउने तयारी गरेको छ । मन्त्री देवकोटाले मन्त्रालयको प्राथमिकता दिगोपन, स्थानीय पहिचान, मौलिकता र नागरिक केन्द्रित दृष्टिकोणमा राखिएको स्पष्ट पारेका छन् ।

































