काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यो दर ३.६७ प्रतिशत मात्र थियो । मुद्रास्फीति भने घट्दै ५.४४ प्रतिशतबाट ४.०६ प्रतिशतमा सीमित भएको छ ।
गत आवमा शोधनान्तर बचत ५ खर्ब ९४ अर्ब पुगेको छ । आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले बढेको छ । सो अवधिमा १७ खर्ब २३ अर्ब बराबरको विप्रेषण भित्रिएको छ, जसमा १९.२ प्रतिशतको वृद्धि भएको छ ।
विदेशी मुद्रा सञ्चिति ३१.२ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब पुगेको छ, जसले १५.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था देखाएको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.६ प्रतिशतले बढेर ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा कर्जा प्रवाह ८.४ प्रतिशत बढेर ५४ खर्ब ९८ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।
































