काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।
बुधबार काठमाडौंमा आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी-एन) को १८औँ वार्षिक साधारणसभा तथा चार्टर डे समारोहमा बोल्दै उनले आर्थिक कूटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको पनि बताईन् ।
उनले भनिन्,‘नेपाल र अवैतनिक वाणिज्यदूतहरूले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनु साथै सम्बन्धित राष्ट्रहरूसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ । यसको लागि म धन्यवाद पनि दिन चाहान्छु ।’

































