काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नम्बर २ बाट हुने काम पूर्णरुपमा प्रविधिमैत्री रहेको बताएका छन् । समृद्ध न्युजसँगको विशेष कुराकानीका क्रममा वडाध्यक्ष श्रेष्ठले २०५४ सालमा वडा सदस्य हुँदा होस् या २०७४ सालदेखि वडाध्यक्ष हुँदा होस् सधैँ वडा र वडाबासीको पक्षमा काम गरिरहेको बताए ।
‘२०५४ सालमा वडा सदस्य हुँदादेखि यहाँका वडाबासीको हकहितमा मैले काम गरिरहेको छु,’ उनले भने, ‘त्यही कामलाई देखेर मलाई वडा नम्बर २ का जनताले २०७४ र २०७९ मा पुनः वडाध्यक्षमा निर्वाचित गराउनुभयो ।’
२०७४ सालयता धेरै परिर्वतनको काम भएको अध्यक्ष श्रेष्ठले बताए । ‘अझै धेरै काम पाइपलाइनमा छन्,’ उनले भने, ‘वडा नम्बर २ सबैभन्दा बढी डुबानमा पर्ने क्षेत्र हो, त्यसलाई ध्यानमा राख्दै र वडाबासीलाई सुरक्षित राख्न र उनीहरुको जनधनको ख्याल राख्दै डुबानमुक्त बनाउने अभियानमै छौँ ।’ डुबान समस्या समाधान नै वडाको मुख्य प्राथमिकतामा रहेको अध्यक्ष श्रेष्ठले स्पष्ट पारेका छन् ।
त्यस्तै गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा खेलकुदको विकासका लागि पनि वडाले काम गरिरहेको उनले जानकारी दिए । ‘खेल क्षेत्रको विकासमा पनि वडा कार्यालयले विशेष ध्यान दिएको छ,’ उनले भने, ‘युवायुवतीको स्वास्थ्यलाई ध्यानमा राख्दै टेबलटेनिस, फुटसल, चेसलगायतका खेलमा लगानी गरेका छौँ ।’
अध्यक्ष श्रैष्ठ सडक विस्तारका क्रममा वडाबासीको भौतिक सम्पत्तिमा कुनै प्रकारको क्षति नहोस् भन्नेमा सजग छन् । ‘वडाबासीलाई विस्थापित गर्ने गरेर बाटोघाटो विस्तार गरेका छैनौँ,’ उनले भने, ‘बाटो ठूलो बनाउने नाममा वडाबासीलाई दुःख दिएका छैनौँ । बाटो ठूलो बनाउने हो भने घरधनीलाई क्षतिपूर्ति दिएरमात्र हटाउनुपर्छ । त्यो क्षतिपूर्ति दिन सक्ने अवस्था अहिले वडासँग छैन ।’ प्रहरी लगाएर हटाउने प्रवृत्तिको उनले विरोध गर्ने गरेका छन् ।

































