काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् ।
डिप्लोमा इन्जिनियर्स एसोसिएसनको ४५औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यशालामा उनले विपद् व्यवस्थापनका लागि जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा जोड दिएका हुन् ।
‘प्लास्टिकको प्रयोग मानव स्वास्थ्य, प्राणी र पर्यावरणका लागि हानिकारक छ । तसर्थ, प्लास्टिकको विकल्प विकासगरी यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ,’ मन्त्री दाहालले भने, ‘सबै स्थानीय तह, प्रदेश एवं संघीय सरकारले नागरिकको सहभागितामा वातावरण संरक्षणका कार्यक्रम अघि सार्नुपर्छ ।’
मन्त्री दाहालले डिप्लोमा इन्जिनियरिङ काउन्सिल छिटै गठन हुने र त्यसको प्रक्रियासमेत सुरु भइसकेको बताए । कार्यक्रममा इन्जिनियरिङ क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
कार्यशालामा सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको अवरोधका कारण संसदको कामकारबाही प्रभावित भएको बताएका छन् । सभामुखले भने, ‘म पछार्न त पछार्ने थिएँ, तर मलाई खुट्टै टेक्न दिएनन् ।’
सभामुख घिमिरेले संघीय निजामती विधेयक र विद्यालय शिक्षा विधेयक लगायतका महत्त्वपूर्ण कानुनहरू संसदमा अड्किएको उल्लेख गरे । उनले फरक मत भए पनि संसदलाई प्रभावकारी बनाउन जिम्मेवार राजनीतिक दलहरूले अग्रसरता नदेखाउँदा समस्या थपिएको बताए । विगत १० दिनदेखि सदन नियमित रूपमा चल्न नसकेकोमा उनले गुनासो गरे ।
कार्यशालामा बागमती प्रदेशसभा सदस्य डा. दिनेशचन्द्र देवकोटाले जलवायु परिवर्तनका असर, प्लास्टिकको कम प्रयोगदेखि हिमाललाई बचाउने काममा विश्व समुदायसँग समन्वय गर्न आवश्यक रहेको बताए ।
‘जलवायु परिवर्तन र प्लास्टिक प्रयोगको असर ठूलो समस्याको रूपमा देखिन थालेको छ । हाम्रा हिमाल एकातिर नांगिन थालेका छन् । अर्कोतिर हिमालदेखि हामीले प्रयोग गरेर बगाएको प्लास्टिक समुद्रसम्म पुगेको छ,’ उनले भने, ‘यी सबै असर र प्रभावलाई कम गर्न हामीले विश्वसँग समन्वय गर्नुपर्छ ।’
जलवायु परिवर्तन, प्लास्टिक तथा विश्व वातावरणका विषयमा कार्यशाला आयोजना गरिएको अवसरमा जानकारी दिए ।

































