काठमाडौं । नागार्जुन नगरपालिकाले सेवा प्रवाह, विकास निर्माण तथा सुशासनसम्बन्धी गतिविधिबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नगरपालिकाले विगत केही वर्षमा पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, खानेपानी तथा प्रशासनिक सुधारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।
सार्वजनिक सुनुवाइमा प्रस्तुत विवरणअनुसार पुरुष ५७ हजार ५९६ र महिला ५७ हजार ८४१ गरी एक लाख १५ हजारभन्दा बढी जनसंख्या रहेको नगरपालिकाले स्थानीय शासन प्रणालीलाई थप जनमुखी, पारदर्शी र उत्तरदायी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नगरपालिकाले २०७४ सालपछि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर सडक, भवन तथा खानेपानीका क्षेत्रमा व्यापक काम गरेको जनाएको छ। नगरभित्र हाल रहेको ४१८ किलोमिटर सडक सञ्जालमध्ये ३६८ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति नगरपालिकाको पहलमा गरिएको हो। तीमध्ये २७० किलोमिटर सडक कालोपत्रे तथा ढलान भइसकेको छ भने करिब ५० किलोमिटर कच्ची सडकको स्तरोन्नति गर्न बाँकी रहेको जानकारी दिइएको छ।

त्यसैगरी नगरपालिकाको प्रशासकीय भवन, नगर अस्पताल भवन र वडा कार्यालयसहित सातवटा महत्वपूर्ण संरचना निर्माण भएका छन्। सामुदायिक भवनसमेत जोड्दा हालसम्म ४४ वटा सार्वजनिक संरचना निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ।
खानेपानी व्यवस्थापनतर्फ २५ वटा डिप बोरिङ निर्माण गरिएको छ भने ६६ वटा खानेपानी आयोजनामा पाइप विस्तार, मुहान संरक्षण तथा ट्यांकी निर्माणका काम सम्पन्न भएका छन्। नगरपालिकाले सीपमूलक तालिममार्फत स्थानीय नागरिकलाई स्वरोजगारतर्फ आकर्षित गर्ने प्रयाससमेत गरेको जनाएको छ।
स्वास्थ्य सेवामा पनि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। आर्थिक वर्ष २०८१/८२ देखि सञ्चालनमा आएको नागार्जुन नगर अस्पतालमार्फत स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान भइरहेको छ। साथै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत २०८३ वैशाखसम्म दुई हजार १९७ परिवारको स्वास्थ्य बीमाबापत करिब ८० लाख रुपैयाँ राष्ट्रिय स्वास्थ्य बीमा बोर्डमा भुक्तानी गरिएको नगरपालिकाले जनाएको छ। अशक्त तथा ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने कार्यक्रम पनि सञ्चालनमा रहेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रतर्फ विनियोजित ६ करोड २२ लाख रुपैयाँमध्ये ८० प्रतिशत वित्तीय तथा ९० प्रतिशत भौतिक प्रगति हासिल भएको नगरपालिकाले जनाएको छ। दीगो तथा सम्मानित रोजगारीका लागि सञ्चालन गरिएको सीप विकास परियोजनामा ७० लाख रुपैयाँ बजेटमध्ये २९ प्रतिशत वित्तीय तथा ८५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिइयो।

शिक्षा क्षेत्रमा नगरभित्र रहेका १९ वटा सामुदायिक विद्यालयमा पाँच हजार ५७८ तथा संस्थागत विद्यालयमा २२ हजार ५६८ गरी कुल २८ हजार १४६ विद्यार्थी अध्ययनरत छन्। तीमध्ये सामुदायिक विद्यालयका एक हजार ८२२ र संस्थागत विद्यालयका एक हजार ४०० गरी तीन हजार २२२ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सरकारी जग्गा संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ। हालसम्म एक हजार ७७० रोपनी सरकारी जग्गाको रेखांकन सम्पन्न भइसकेको छ। यसका साथै नगरभित्र रहेका घरधुरीको डिजिटल प्रोफाइल तयार गर्ने कार्य अघि बढाइएको छ भने सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडानको काम जारी रहेको छ।

फोहोरमैला व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिकाले ठेक्का प्रक्रियासमेत अगाडि बढाइसकेको जनाएको छ। यद्यपि सितापाइला–धार्के राष्ट्रिय राजमार्गको मापदण्डका कारण स्थानीय बासिन्दाले विभिन्न समस्या भोग्नुपरेको तथा खानेपानी अभाव नगरको प्रमुख चुनौतीका रूपमा रहेको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले सेवा प्रवाह, विकास निर्माण, खानेपानी, सडक, शिक्षा र स्वास्थ्यलगायत विषयमा जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रममा नगरपालिकाकी उपप्रमुख तथा कार्यवाहक प्रमुख सुशीला अधिकारीले नागरिकका प्रश्नको जवाफ दिँदै नगरपालिकाले प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।































