एमालेको संगठन सुदृढीकरण अभियान सुरु, सबै केन्द्रीय सदस्य भूगोलमा केन्द्रित

एमालेको संगठन सुदृढीकरण अभियान सुरु, सबै केन्द्रीय सदस्य भूगोलमा केन्द्रित

एमालेको अपानि २ जारी

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै देशव्यापी पार्टी जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारीबाहेकका सबै केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)–२ मार्फत अभियानको औपचारिक घोषणा गरिएको हो। जेठ ४ गतेदेखि सुरु भई ८, ९ र १० गते सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णय मातहतका कमिटीमा कार्यान्वयनका लागि पठाउँदै पार्टीले अभियानको खाका सार्वजनिक गरेको हो।

निर्देशनअनुसार केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभागीय जिम्मेवारीसँगै आफ्नै भूगोलका पालिकामा पार्टी गतिविधि सशक्त बनाउने जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्य मात्रै पर्याप्त नहुने निष्कर्षसहित केन्द्रीय निकायका सदस्य र अगुवा कार्यकर्तालाई समेत अभियानमा परिचालन गरिने एमालेले जनाएको छ।

कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र अभियानको नेतृत्व गर्नेछन् भने महासचिवले संगठनात्मक गतिविधिको समन्वय र केन्द्रीय कार्यालयको जिम्मेवारी सम्हाल्नेछन्। उपाध्यक्ष र उपमहासचिवहरूलाई विभिन्न विभाग तथा कार्यक्षेत्रको संयोजनको जिम्मेवारी दिइएको छ।

पार्टीका नौ सचिवमध्ये छ जनालाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ। सचिव छविलाल विश्वकर्मा लुम्बिनी, खगराज अधिकारी गण्डकी, यमलाल कँडेल कर्णाली, शेरधन राई कोशी, राजन भट्टराई राजधानी विशेष प्रदेश तथा महेश बस्नेत बागमती प्रदेश इन्चार्ज नियुक्त भएका छन्।

त्यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला विभाग प्रमुख तथा भानुभक्त ढकाललाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

एमालेका एक सचिवका अनुसार पार्टीले अधिकांश केन्द्रीय सदस्यलाई आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा केन्द्रित गरी जागरण अभियान सञ्चालन गर्ने योजना बनाएको छ। आवश्यकता अनुसार एक जना केन्द्रीय सदस्यलाई बढीमा दुई पालिकाको जिम्मेवारी दिइनेछ।

पार्टी नेतृत्वले निर्वाचनपछि केही स्थानमा सुस्त बनेका कमिटी तथा संगठनात्मक गतिविधिलाई पुनः सक्रिय बनाउने उद्देश्यले अभियान अघि सारिएको जनाएको छ। जागरण अभियानले तल्लो तहसम्म संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र निर्वाचन तयारीलाई थप व्यवस्थित बनाउने एमालेको अपेक्षा छ।

यसैबीच, पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा निरज आचार्यलाई जिम्मेवारी दिइएको छ भने प्रेस चौतारी नेपालको इन्चार्जमा रामकुमारी झाँक्रीलाई तोकिएको छ।

Tokha