हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी, चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको आरोप

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी, चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको आरोप

काठमाडौं । सुनसरी-१ का प्रतिनिधिसभा उम्मेदवार तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । चुनावी प्रचार-प्रसारका क्रममा बालबालिकाको प्रयोग गरिएको आरोप लगाउँदै धरान नगर बाल सञ्जालले उजुरी दिएको हो ।

बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय सुनसरी र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा समेत उजुरी दर्ता गराएको जनाएको छ । उजुरीमा बालबालिका ऐन, २०७५ को व्यवस्था विपरीत राजनीतिक गतिविधिमा बालबालिकालाई प्रयोग गरिएको उल्लेख गरिएको छ । ऐनको परिच्छेद २ अन्तर्गत दफा ७ अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने व्यवस्था रहेको जनाइएको छ ।

सञ्जालले उजुरीमार्फत उम्मेदवार साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई यस विषयमा छलफल गर्न तथा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।

निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उजुरीको अध्ययनका लागि प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले उजुरीमाथि छानबिन गरी आवश्यक निर्णय र कारबाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।

प्रचलित कानुनअनुसार बालबालिकाको राजनीतिक प्रयोग प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी दर्ता खारेजसमेत हुन सक्ने व्यवस्था रहेको छ ।

Tokha