काठमाडौं । नेकपा एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन् ।
पार्टीको बुधबार बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो। प्रचार-प्रसार तथा सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित उनलाई उक्त जिम्मेवारी दिइएको पार्टी स्रोतले जनाएको छ ।
कालिकोट निवासी शाही सामुदायिक रेडियो आन्दोलनको पृष्ठभूमिबाट एमालेको केन्द्रीय राजनीतिमा उदाएका नेता हुन् । उनी सामुदायिक सूचना नेटवर्कका संस्थापक समेत हुन् । साथै, सामुदायिक रेडियो प्रसारक संघ (अकोर्याब)को दुई कार्यकाल अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।
शाही हाल सामुदायिक रेडियो विश्व संगठनका सह-अध्यक्ष समेत रहेका छन्। सञ्चार क्षेत्रमा लामो अनुभव बटुलेका शाही ११औँ महाधिवेशनबाट नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
सञ्चार र संगठन दुवै क्षेत्रमा अनुभव भएका शाहीको नेतृत्वमा पार्टीको प्रचार तथा प्रकाशन विभाग अझ व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

































