ऊर्जा, पूर्वाधार र शहरी विकासमा कुलमानको सक्रियता, १९ अर्बको विद्युत निर्यातदेखि १०१ कार्य सम्पन्न

ऊर्जा, पूर्वाधार र शहरी विकासमा कुलमानको सक्रियता, १९ अर्बको विद्युत निर्यातदेखि १०१ कार्य सम्पन्न

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले पदभार सम्हालेको सय दिन पूरा भएको अवसरमा तीनवटै मन्त्रालयमार्फत सम्पन्न प्रमुख कामहरूको सार्वजनिक विवरण सार्वजनिक गरेका छन् ।

बुधबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले ऊर्जा उत्पादन, पूर्वाधार विस्तार, यातायात सुधार र शहरी विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे । उनका अनुसार सय दिनको अवधिमा तीन मन्त्रालयबाट १०१ महत्वपूर्ण निर्णय र कार्यान्वयन सम्पन्न भएका छन् ।

ऊर्जा क्षेत्रमा सुधार र लगानी विस्तार

ऊर्जा मन्त्रालय अन्तर्गत लामो समयदेखि उठ्न नसकेको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल किस्ताबन्दीमा असुली सुरु गरिएको छ । बुढीगण्डकी र अपर अरुणजस्ता ठूला जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने वित्तीय मोडालिटी तयार गरी अर्थ मन्त्रालय पठाइएको छ ।

यस अवधिमा मध्यभोटेकोशी जलविद्युत आयोजना सम्पन्न भई उत्पादन सुरु, भारत र बंगलादेशतर्फ करिब १९ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात, तथा २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड जारी गर्ने निर्णय गरिएको छ। नेपाल-भारत र नेपाल-बंगलादेशबीच विद्युत व्यापार विस्तारका लागि प्रसारण लाइनसम्बन्धी सहमति पनि भएका छन् ।

भौतिक पूर्वाधार र यातायातमा तीव्रता

भौतिक पूर्वाधार मन्त्रालयमार्फत १६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे, १० वटा पुल निर्माण सम्पन्न तथा रुग्ण ठेक्काहरू तोडेर पुनः ठेक्का प्रक्रिया अघि बढाइएको छ। सिद्धबाबा सुरुङ, नागढुंगा सुरुङ, पूर्व-पश्चिम राजमार्ग, हुलाकी राजमार्गलगायत रणनीतिक आयोजनामा प्रगति भएको छ ।

यातायात व्यवस्थापन सुधारका लागि स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइ, डाटा सेन्टर पुनः सञ्चालन, सार्वजनिक सवारी व्यवस्थापन तथा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। तातोपानी नाका पुनः सञ्चालनमा ल्याइनु पनि यस अवधिको महत्वपूर्ण उपलब्धि हो ।

शहरी विकास र वातावरणीय पहल

शहरी विकास मन्त्रालयमार्फत किर्तिपुर क्रिकेट रंगशालाको दोस्रो चरणका लागि १० अर्ब बजेट सुनिश्चित गर्ने प्रक्रिया, बञ्चरेडाँडा ल्यान्डफिल साइटको अवरोध समाधान, बागमती नदी सफाइ अभियान तीव्र पारिएको छ ।

भूकम्प तथा आन्दोलनबाट क्षतिग्रस्त सरकारी भवनहरूको पुनर्निर्माण, अस्पताल भवन हस्तान्तरण, झोलुंगे पुल निर्माण, आवास अधिकारसम्बन्धी नियमावली तयारी र काठमाडौं भिजन २०४० अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

पारदर्शिता र सुशासनमा जोड

मन्त्री घिसिङले सेवा प्रवाहलाई छरितो र पारदर्शी बनाउन गुनासो व्यवस्थापन संयन्त्र, कर्मचारी सरुवामा मापदण्ड, रुग्ण ठेक्का अन्त्य तथा अनुगमनलाई प्राथमिकता दिइएको बताए ।

उनले सय दिनको उपलब्धिलाई आधार बनाएर आगामी दिनमा ऊर्जा आत्मनिर्भरता, आधुनिक पूर्वाधार र दिगो शहरी विकासलाई अझ तीव्र बनाइने प्रतिबद्धता व्यक्त गरे ।

Tokha