हुलाक टिकट अभ्यास हटाइयो, १४ अर्ब ३८ करोडको सहुलियतपूर्ण ऋण स्वीकृत

हुलाक टिकट अभ्यास हटाइयो, १४ अर्ब ३८ करोडको सहुलियतपूर्ण ऋण स्वीकृत

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर २५ र २९ गते बसेका दुई बैठकका निर्णय सार्वजनिक भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार ती निर्णयहरू सार्वजनिक गरेका हुन्।

मंसिर २५ गतेको बैठकले नेपाल न्याय सेवाका सहसचिव पुष्कर सापकोटालाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ। साथै, समाज कल्याण परिषद्को सदस्य–सचिव पदमा महोत्तरीका सरोजकुमार शर्मालाई मनोनयन गरिएको छ।

त्यसैगरी, जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीच मिति २०८२/८/२४ मा भएको सम्झौतालाई मन्त्रिपरिषद्ले अनुमोदन गर्दै सम्बन्धित मन्त्रालयलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। सोही सम्झौताअनुसार यसअघि गठन गरिएको जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय पनि गरिएको छ।

मंसिर २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा प्रवाह प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यासलाई, प्रचलित कानूनमा व्यवस्था भएको बाहेक, पूर्ण रूपमा हटाउने निर्णय गरेको छ।

बैठकले सार्वजनिक वित्तीय व्यवस्थापन तथा विकेन्द्रित सेवा प्रवाह सुदृढीकरण कार्यक्रमका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर (करिब १४ अर्ब ३८ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, सिराहा जिल्लाको लहान नगरपालिकामा रहेको १-१५-१० विघा जग्गा तथा सोमा निर्मित भवन मधेश प्रदेश सरकारअन्तर्गत रामकुमार शारदा-उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर आर्थिक ऐन, २०८२ अनुसार छुट दिने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति अधिकतम २५ हजार रुपैयाँसम्म नेपाल-भारत आवतजावत गर्दा ल्याउन र लैजान सक्ने गरी स्वीकृति दिएको छ।

त्यसैगरी, चालू आर्थिक वर्ष २०८२/८३ को बाँकी अवधिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिंचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनामा अधिकृतस्तरका आठ पदका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

साथै, पुस १२ देखि १४ गतेसम्म काठमाडौंमा हुने नेपाल-भारत संयुक्त कृषि कार्यसमूहको नवौं बैठकका लागि नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरिएको छ।

बैठकले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति पनि प्रदान गरिएको छ।

यसैगरी, नेपाली सेनाका दुई जना महासेनानीलाई सहायक रथीमा, एक जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने तथा उपरथी र महासेनानीहरूको सरुवा गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य पदमा प्रा. सुनीती श्रेष्ठ (हाडा) लाई नियुक्त गरेको छ।

राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षसँग संवाद, समन्वय र सहजीकरणका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको छ। समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्।

Tokha