एमाले महाधिवेशनमा ठूलो फेरबदल : वरिष्ठ उपाध्यक्ष पद हट्यो, १९ सदस्यीय पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटीको प्रस्ताव पारित

एमाले महाधिवेशनमा ठूलो फेरबदल : वरिष्ठ उपाध्यक्ष पद हट्यो, १९ सदस्यीय पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटीको प्रस्ताव पारित

काठमाडौं । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनअन्तर्गत आइतबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो ।

एक नेताका अनुसार वरिष्ठ उपाध्यक्षबाहेक नै एमालेले पदाधिकारी संख्या बढाएर १९ सदस्यीय बनाएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘पार्टी विधानमा रहेको व्यवस्थापनमा केही हेरफेर भएको छ । केन्द्रीय कमिटिमा उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ सदस्य सचिव गरेर १९ सदस्यीय पदाधिकारीको प्रस्ताव केन्द्रीय कमिटिले महाधिवेशनको हलमा लाँदैछ । केन्द्रीय कमिटिमा आजको जेनजी पुस्तालाई समेत ध्यानमा राखेर युवाहरुको उपस्थितीलाई समेत ध्यानमा राखेर प्रस्तुत गरेको २५१ सदस्य केन्द्रीय कमिटिमा हेरफेर गर्दै ३०१ केन्द्रीय कमिटिको प्रस्ताव चाँही महाधिवेशनमा जाँदै छ । त्यसको ठिक एक तिहाई ९९ देखी १०१ सम्मको पोलिटब्यूरो, त्यसको ठिक एक तिहाई ३० देखी ३३ को स्थायी समिति रहने गरी हाम्रो प्रस्ताव केन्द्रीय कमिटिले पारित गरेर महाधिवेशनको हलमा गएको छ ।’

गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ मा झारेको थियो । तर, अहिले पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि अध्यक्ष ओलीले पदाधिकारी संख्या बढाएर पुनः १९ पुर्‍याएको हो । नयाँ विधानमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात गरी २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्ने र प्रदेश कमिटीका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ ।

अब भने विधान संशोधनपछि अध्यक्ष एक, उपाध्यक्ष ५, सचिव ९, महासचिव १, उपमहासचिव ३ हुनेछ ।

Tokha