काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहितको नयाँ पार्टी एकता प्रक्रियासँग असहमत रहँदै आएका नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
सोमबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्कने अभियान-राष्ट्रिय घोषणा सभा’ कार्यक्रममा उनीहरू औपचारिक रूपमा एमालेमा समाहित भएका हुन्। कार्यक्रमका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डा र खादामालाले सम्मानपूर्वक स्वागत गरे।
सांकेतिक रूपमा उनीहरूले पार्टी अध्यक्ष ओलीलाई कलम हस्तान्तरण गर्दै एमालेमा फर्किएको घोषणा गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘घर फर्कने लहर सुरु भएको’ भन्दै आफ्ना पुराना सहकर्मीहरूलाई पुनः पार्टीमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गरे।
पूर्व समाजवादी नेताहरू मध्ये रामकुमारी झाँक्री र किसान श्रेष्ठसँगै केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राईलगायत पनि एमालेमा प्रवेश गरेका छन्।
त्यस्तै, केदार प्रसाद गौतम, डा. सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, सोमित राई, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सन्जिव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेति, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य र प्रविण घर्ती मगरलगायतका नेता तथा कार्यकर्ताहरू पनि एमालेमा सामेल भएका छन् ।
कार्यक्रममा सहभागी नेताहरूले एमाले नै देशको स्थायित्व र विकासको मुख्य शक्तिको रूपमा पुनः स्थापित हुने विश्वास व्यक्त गरे।

































