रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीको मुद्दाको सुनुवाइ बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासमा हुँदैछ।

बिहीबार तोकिएको साप्ताहिक पेशीअनुसार न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा सुनुवाइ हुने उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । अदालतका अनुसार उनीहरूको मुद्दा एक नम्बर इजलासको क्रम संख्या ३ मा तोकिएको छ ।

यसअघि कात्तिक १३ गते तोकिएको पेशीमा जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित गरिएको थियो । त्यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले दुवै मुद्दा एकैसाथ राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।

सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा दुवै जना हाल पुर्पक्षका लागि कारागारमा रहेका छन् । लामिछानेले आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो रकम बुझाएर थुनामुक्त भई बाहिरबाट मुद्दा लड्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। तर, जिल्ला अदालत रुपन्देहीले उनको निवेदन खारेज गरेपछि उनले उच्च अदालतमा पुनः अपिल दर्ता गराएका हुन् ।

उच्च अदालतले यसअघि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्दै प्रारम्भिक अध्ययन अघि बढाएको थियो । अदालतले लामिछानेको मुद्दासँगै जोशीको फाइल पनि एकैसाथ पेश गर्न आदेश दिएको थियो, ताकि दुवै मुद्दामा समान प्रकृतिको निर्णय गर्न सकियोस् ।

सहकारी ठगी प्रकरण बुटवलस्थित सुप्रिम सहकारी संस्थासँग सम्बन्धित हो जहाँ करोडौं रुपैयाँको ठगी आरोपमा विभिन्न व्यक्तिमाथि अनुसन्धान र अभियोग दायर गरिएको छ । लामिछाने र जोशी दुवैलाई उक्त प्रकरणमा प्रत्यक्ष संलग्न देखिएको दाबी गर्दै प्रहरी र अभियोजन पक्षले अनुसन्धान अघि बढाएको हो ।

आज हुने सुनुवाइमा दुवै पक्षका कानुनी टोलीले आफ्नो तर्क राख्ने छन् । अदालतले दुवै प्रतिवादीलाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षकै लागि थुनामा राख्ने भन्ने विषयमा आजै निर्णय गर्ने सम्भावना रहेको बताइएको छ ।

Tokha