काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको प्रतिनिधि टोलीले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको छ।
नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा गएको उक्त टोलीमा उप-प्रमुख अनिता लामा, वडा नं. १, २, ६, ७, ८, ९, १० र १२ का वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य चन्द्रमान श्रेष्ठ, एमाले बुढानिलकण्ठ उप-सचिव सुनिता गुरुङ र कपन क्याम्पसका क्याम्पस प्रमुख भूमिदत्त पौडेल सहभागी थिए।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, शिक्षा शाखा प्रमुख ललित विक्रम सिंह, लेखा शाखा प्रमुख तथा पेशागत महासंघका महासचिव केदारप्रसाद देवकोटा पनि टोलीमा सामेल थिए ।
ओलीसँग भेटका लागि समय लम्बिँदा केही वडाध्यक्षहरू पहिले नै फर्किएको नगर स्रोतले जनाएको छ। भक्तपुरको गुण्डुमा भएको भेटमा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई पनि उपस्थित थिए।
भेटका क्रममा अध्यक्ष ओलीले आगामी महाधिवेशनको तयारी, हालको राजनीतिक परिस्थिति र सरकारको कार्यक्षमता विषयमा विचार व्यक्त गरेका थिए । उनले वर्तमान सरकारले निर्वाचन गराउन असमर्थ रहेको दाबी गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्पमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
ओलीले आवश्यकता परे स्थानीय तहमा टोल-टोलमा सुरक्षा दस्ता गठन गरी परिस्थितिको सामना गर्न तयार रहन आग्रह गरेको सहभागीहरूले बताएका छन् ।

































