रास्वपा सभापति रवि लामिछाने कारागारबाट सिंहदरबार झिकाइए, उच्चस्तरीय आयोगले लिँदै बयान

रास्वपा सभापति रवि लामिछाने कारागारबाट सिंहदरबार झिकाइए, उच्चस्तरीय आयोगले लिँदै बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई उच्चस्तरीय जाँचबुझ आयोगले सोधपुछका लागि नख्खु कारागारबाट सिंहदरबारस्थित कार्यालयमा झिकाएको छ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुधबार लामिछानेसँग जेनजी आन्दोलनको क्रममा उनी कारागार बाहिर निस्किएको घटनाबारे बयान लिने तयारी गरेको हो । आयोगले उनलाई सोधपुछका लागि कारागार प्रशासनमार्फत बोलाएपछि बिहानै नख्खु कारागारबाट सिंहदरबारतर्फ पठाइएको स्रोतले जानकारी दिएको छ ।

२४ भदौमा नख्खु कारागारमा रहेका लामिछाने असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए । त्यस घटनाबारे उठेका विवादपछि उनले पुनः कारागारमै फर्किए पनि उक्त दिनको कारागार प्रशासनको निर्णय र त्यससँग सम्बन्धित पत्रको वैधानिकताबारे प्रश्न उठेको थियो ।

आयोगले गत सोमबार घटनाको स्थलगत अध्ययन गर्न नख्खु कारागारमा टोली पठाएको थियो। त्यसअघि आयोगले कारागार प्रमुख सत्यराज जोशीसहित सम्बन्धित कर्मचारीहरूसँग बयान लिएको थियो ।

सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेविरुद्धको घटनालाई आयोगले ‘संवेदनशील विषय’का रूपमा अध्ययन गरिरहेको बताइएको छ ।

Tokha