काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं ४ बाट सर्वसम्मत प्रतिनिधि चयन नभए आफू पनि उम्मेदवारी दिने संकेत दिएका छन् ।
नगर प्रमुख अधिकारीले भने, ‘सर्वसम्मत चयनका लागि मेरो तर्फबाट पूर्ण प्रयास हुनेछ। यदि परिस्थिती त्यस्तो बनेन भने म पनि चुनावी मैदानमा सहभागि हुनेछु।’
राजनीतिमा करिव चार दशकदेखि सक्रिय अधिकारी पञ्चायतकालिन समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनसँग आबद्ध छन् । उनी २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा साविक कपन गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिइसकेका छन् ।
२०४९ सालमा उनी नेपाली कांग्रेसका आत्माराम पौडेलसँग थोरै मत अन्तरले पराजित भए, भने २०५४ सालमा पुनः मैदानमा आएर सोही प्रतिद्वन्द्वीलाई हराउँदै कपन गाउँपालिकाका अध्यक्ष निर्वाचित बने ।
अधिकारीले आफ्नो राजनीतिक करियरमा कपन गाउँ कमिटी सचिव, जिल्ला कमिटी सदस्य, महाधिवेशन प्रतिनिधि हुँदै बागमती प्रदेश कमिटी सदस्यको जिम्मेवारी सम्हालेका छन् । उनी आफ्नो सक्रिय नेतृत्व र विकासमुखी सोचका कारण स्थानिय राजनीतिमा परिचित नेताका रूपमा चिनिन्छन् ।

































