काठमाडौं । अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा चलेका खगेन्द्र सुनार दुईवटा मुद्दामा फरार अभियुक्त रहेको तथ्य प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) ले देखाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार सुनार विरुद्ध दुईवटा अभियोगमा अदालतले सजाय र जेल भुक्तान बाँकी देखाएको हो ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतले सुनारविरुद्ध विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो, तर मुद्दा अझै फर्स्यौट भएको छैन । यस्तै, सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ मा जारी गरेको पक्राउ पुर्जी अनुसार पनि उनी पक्राउ पर्न बाँकी छन्। अदालतले सुर्खेत प्रहरीलाई २०८१ मंसिर २१ मा पक्राउ पुर्जी कार्यान्वयनको लागि पनि ताकेता गरेको थियो ।
सुर्खेतमा मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापमाथि हातपात र अस्पतालमा तोडफोड गरेको अभियोगमा पनि सुनारविरुद्ध पक्राउ पुर्जी जारी छ।
सुनारको नाम सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा समेत देखिन्छ । अधिवक्ता मनिषा गौतमले दायर गरेको मुद्दामा गत असोज ६ गते पेसी तोकिएको भए पनि सर्वोच्च अदालत जलेपछि पेसी स्थगित भएको थियो ।
उच्च अदालत सुर्खेतले नवराज विकको मुद्दामा सुनाएको फैसला मन नपरेपछि सुनारले अदालत परिसरमा हुलहुज्जत मच्चाएका थिए । उनले न्यायाधीशहरूलाई धम्की दिएको र अदालत परिसरमा तोडफोड गरेका थिए। यसका कारण गौतमले उनलाई मानहानीको मुद्दा दायर गरेकी थिइन्।
सुनारले यो मुद्दामा मात्रै नभई, गौतमलाई फेसबुकमा अपमानजनक स्टाटस लेखी तस्विर र फोन नम्बर सार्वजनिक गरेर चारित्रिक लाञ्छना समेत लगाएका थिए । गौतमले साइबर ब्यूरोमा जाहेरी दिएको भए पनि मुद्दा दर्ता नभएर उनी काभ्रेपलाञ्चोक अदालतमा जानुपर्ने सल्लाह पाएकी छन् ।

































