काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बिग्रिएको भन्ने आरोपलाई अस्वीकार गरेका छन् । बुधबारदेखि सुरु भएको पार्टीको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफू सधैं देशभक्तिको र राष्ट्रिय स्वाधीनताको पक्षमा अडिग रहेको बताए ।
‘केहीले भन्छन्-ओली अझै सप्रिएन,’ उनले भनाइ जारी राख्दै भने, ‘पहिले बिग्रिएको भए मात्र त सप्रिनुपर्ने हो । म त बिग्रिएको नै छैन । देशको हित, विकास र स्वाभिमानका कुरा त्याग्नुपर्ने हो भने म त्यस्तो सुधार चाहन्न ।’
ओलीले पार्टीभित्र आन्तरिक छलफल नगरी बाहिरका आलोचनामा लहसिने कार्यकर्तामाथि पनि कटाक्ष गरेका छन् । उनले भने, ‘पार्टीभित्रका विषय बाहिर लगेर विरोधीको स्वरमा बोल्नेहरू नै सप्रिनु पर्नेहरू हुन् ।’



































