एमाले सधैंका लागि सत्ता बाहिर रहन्छ भन्ने सोच भ्रम हो : अध्यक्ष ओली

एमाले सधैंका लागि सत्ता बाहिर रहन्छ भन्ने सोच भ्रम हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर नभएको र एमाले स्थायी रूपमा सत्ता बाहिर रहन्छ भन्ने सोच गलत भएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कमिटीको दशौं बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भनेर सोचेको होला, तर त्यो भ्रम हो । एमाले देशको राजनीतिक र आर्थिक विकासको नायक पार्टी हो, जसले व्यवहारमै आफ्नो क्षमताको प्रमाण देखाइसकेको छ।’

ओलीले विश्व बैंकको पछिल्लो प्रतिवेदनलाई उद्धृत गर्दै एमाले सरकार हुँदा र हटेपछि देशको आर्थिक सूचकमा आएको अन्तरलाई उदाहरणका रूपमा प्रस्तुत गरे । ‘हामी सरकारमा हुँदा अर्थतन्त्र मजबुत थियो, अहिले विश्व बैंकले नै भन्छ – यो वर्ष वृद्धिदर ३ प्रतिशतमा झर्नेछ,’ उनले दाबी गरे ।

उनले एमालेले देशको स्वाभिमान, आर्थिक सुदृढता र दीगो विकासका लागि निरन्तर काम गर्दै आएको उल्लेख गरे । ‘हामीले अल्पविकसित अवस्थाबाट नेपाललाई अघि बढाउने आधार तयार पारेका छौं,’ ओलीको भनाइ थियो ।

यसैबीच, उनले पार्टीभित्र एकताका चुनौतीबारे पनि प्रष्ट पारे । ‘पार्टीभित्र कहिल्यै पूर्ण एकता रहेन,’ उनले भने, ‘इर्ष्या, डाहा र खुट्टा तान्ने प्रवृत्ति सधैं रह्यो । मेरो नेतृत्वमा बनेको सरकारलाई असफल बनाउने प्रयास भित्रैबाट भयो ।’

जेन-जी आन्दोलनपछि प्रधानमन्त्री पद त्याग गर्न बाध्य भएका ओलीले संविधान जारी भएपछिको पहिलो निर्वाचनबाट बनेको सरकारलाई पनि पार्टीभित्रका केही समूहहरूले असफल बनाएको आरोप लगाए ।

‘हाम्रो सरकार ऐतिहासिक र दूरदर्शी निर्णय गर्दै अघि बढ्दै थियो, तर त्यही बेला सत्ता गिराउने खेल सुरु भयो,’ उनले भने

Tokha