लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो : ‍ओली

लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो : ‍ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधानअनुसार नभई बलमिच्याइँले बनेको आरोप लगाएका छन्।

भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुअघि ‘शर्त’ राखेको जिकिर गरे ।

‘अहिले देशको परिस्थिति असाधारण, असामान्य छ। किनभने देशमा सरकार छ, तर त्यो संविधानअनुसार बनेको छैन, बलमिच्याइँले बनेको सरकार छ,’ ओलीले भने । उनले प्रधानमन्त्री कार्कीले ‘प्रधानमन्त्री बन्नका लागि शर्त राखेको’ दोहोर्याए।

प्रधानमन्त्री कार्कीले संसद् भंग नभए देशमा ‘जेनजीले आगो बाल्छ’ भन्दै चेतावनी दिएको ओलीले बताए ।

‘संसद् तुरुन्तै शपथ गरेर तुरुन्तै संसद् भंग गर्ने सिफारिस गर्छु। त्यो सिफारिस लागू गर्नुपर्छ, संसद् भंग गर्ने भए मात्रै प्रधानमन्त्री हुन्छु, नत्र देशमा जेनजीले आगो बाल्छ,’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै ओलीले बताए।

अध्यक्ष ओलीले पूर्व न्यायाधीश तथा प्रधानन्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी पदमा बस्न नमिल्ने संवैधानिक व्यवस्था रहेको दाबी गरे।

उनले भने, ‘संसद् भंग गर्ने पूर्वशर्त राखेर सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य, लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो । उहाँलाई राम्ररी थाहा छ, नेपालको संविधानको उहाँ व्याख्या गरेर आउनुभएको व्यक्ति हो।’

ओलीले प्रधानमन्त्री बन्नकै लागि कार्की शपथ ग्रहणअघि सडकमा उत्रिएको आरोपसमेत लगाए । ‘तर, उहाँ सुरिनुभयो। त्यो सुरिनका लागि उहाँ २३ गते ‘जेनजी’ भनेर सडकमा उत्रनुभयो। २४ गते सडकमा उत्रनुभयो र के कामका लागि उत्रनुभयो ? उनले प्रश्न गरे।

 

Tokha