काठमाडौं । सरकारले जेनजी आन्दोलनको दमनमा संलग्न र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा परेका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्ने तयारी गरेको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार यसबारे अध्यागमन र राहदानी विभागसँग छलफल भइसकेको छ । हालसम्म निर्णय न भए पनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, कांग्रेस सभापति शेरबहादुर देउवा, आरजु राणा देउवा, पूर्वमन्त्री दीपक खड्का र माओवादी अध्यक्ष प्रचण्डलगायतको नाम चर्चामा आएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले हालै देउवा, खड्का, ओली र प्रचण्ड निवासमा मुचुल्का उठाएर अनुसन्धान अघि बढाइसकेको छ। आन्दोलनका क्रममा जलेका घरहरूमा नगद भेटिएको भन्दै सार्वजनिक भएका दृश्यहरूले थप विवाद चर्काएको छ।
राहदानी ऐन २०७६ अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा आपराधिक अनुसन्धानको क्रममा आवश्यक ठहरिएमा पासपोर्ट रोक्न सकिन्छ। सरकारले यसबारे अध्यागमन र राहदानी विभागसँग कानुनी प्रक्रिया स्पष्ट गरिसकेको छ। अहिलेसम्म कसैको राहदानी आधिकारिक रूपमा रोकिएको छैन तर तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।

































