गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं । जेन जी पुस्ताले सोमबार राजधानीसहित विभिन्न स्थानमा गरेको विरोध प्रदर्शन हिंसात्मक भएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।

सरकारी स्रोतका अनुसार, आन्दोलन नियन्त्रणका क्रममा भएको झडप र सुरक्षा बलको कारबाहीका कारण हालसम्म १९ जनाले ज्यान गुमाएका छन्। सयौं घाइते भएका छन् भने कयौँलाई नियन्त्रणमा लिइएको छ। परिस्थिति नियन्त्रण बाहिर जान थालेपछि सरकारले उपत्यकाका संवेदनशील क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाएको छ।

घटनापछि गृहमन्त्री लेखकले नैतिक जिम्मेवारी स्विकार गर्दै पदत्याग गरेका हुन्। उनले पार्टी बैठकमै आफू अब गृहमन्त्री पदमा बसिरहन नसक्ने स्पष्ट गरेका थिए। ‘जनताको ज्यान जाने अवस्थासम्म पुगेको घटनाप्रति मैले नैतिक जिम्मेवारी लिनुपर्छ भन्ने ठानेँ,’ उनले बैठकमा भनेको स्रोतले जनाएको छ।

यसअघि पनि सरकारमाथि आन्दोलन शान्तिपूर्ण ढंगले व्यवस्थापन गर्न नसकेको आलोचना भइरहेको थियो। लेखकको राजीनामासँगै सरकारले नयाँ गृहमन्त्री चयन गर्ने तयारी गरेको बताइएको छ।

Tokha