काठमाडौं । थाइल्यान्डको पटाया शहरमा सम्पन्न Heroes Taekwondo International Championship मा नेपाली खेलाडीहरूले ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । कडा मेहनत र अनुशासनको बलमा प्रतिस्पर्धामा उत्रिएका टोलीले ९ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै नेपालको नाम उज्यालो पारेको हो ।
यस यात्रामा संयोजक विश्वास अर्याल, प्रशिक्षक विजय पुरी, म्यानेजर महेश पुरी तथा अफिसियल्स प्रितम श्रेष्ठ र रोज्नी श्रेष्ठको उल्लेखनीय योगदान रह्यो । निर्णायक राजेन्द्र डंगोलले Best Referee Award पाउन सफल भए । साथै, अन्तर्राष्ट्रिय प्रशिक्षक तथा पूर्व खेलाडीलाई पटाया मेयरले सम्मान गरेका थिए ।
नेपाल फर्किएपछि कागेश्वरी मनोहरा-८, शिवचोकस्थित सेलिब्रेसन स्कुलले विजेताहरूलाई सम्मानित गर्दै कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा प्रमुख अतिथि, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री डा. दिनेशचन्द्र देवकोटाले विद्यालयले शिक्षा मात्र नभई खेलकुदमा पनि उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे ।
नगरप्रमुख उपेन्द्र कार्कीले पनि विद्यालयको योगदानलाई उच्च मूल्यांकन गर्दै खेललाई शिक्षासँग जोड्ने अभ्यास अनुकरणीय भएको बताए । विद्यालयका कार्यकारी निर्देशक आचार्यश्री महेन्द्र भट्टराईको दृष्टि र नेतृत्वले यस्ता उपलब्धि सम्भव भएको उल्लेख गरे ।
टोली संयोजक अर्यालले पदक संख्याभन्दा पनि यो सफलता नेपाली खेलाडीको अन्तर्राष्ट्रिय स्तरमा उभिने क्षमताको प्रमाण भएको बताए ।

































