क्विक रेस्पोन्स टिमको सहयोगमा पहिरो हटाइएपछि हेटौंडा-काठमाडौं सडक सञ्चालनमा

क्विक रेस्पोन्स टिमको सहयोगमा पहिरो हटाइएपछि हेटौंडा-काठमाडौं सडक सञ्चालनमा

मकवानपुर । हेटौंडा-भिमफेदी-सिस्नेरी हुँदै काठमाडौं जोड्ने सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि मंगलबार बिहानदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । शनिबारदेखि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाउने काममा क्विक रेस्पोन्स टिम र प्रदेश राजधानी पूर्वाधार विशेष आयोजनाले उपकरण परिचालन गरी कामलाई तीव्रता दिएको थियो । उक्त सडक अवलोकनका क्रममा प्रदेश सरकारका मन्त्री डा. दिनेशचन्द्र देवकोटासहित आयोजनाका अधिकारीहरूले पनि पहिरो पन्छाउने कार्यलाई नजिकैबाट नियालेका थिए ।

प्रदेश सरकारले यस सडकलाई प्रादेशिक सडक गुरुयोजना अन्तर्गत राखेर ‘राजधानी मार्ग’ नामकरण गर्दै निर्माण अघि बढाइरहेको छ । सडकको केही भागमा भने कालोपत्रे काम अझै बाँकी रहेको छ ।

Tokha