मकवापुर । बागमती प्रदेशका पाँच नयाँ मन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले कञ्चनचन्द्र बादे (सामाजिक विकास), प्रभात तामाङ (आर्थिक मामिला तथा योजना), अर्मिला केसी नेपाल (युवा तथा खेलकुद), सुरेश श्रेष्ठ (संस्कृति तथा पर्यटन) र बिनु रायमाझी (सहकारी तथा गरिबी निवारण) लाई सपथ गराएका हुन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोही दिन उनीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका थिए । यससँगै मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।
यसअघि २० साउनमा बानियाँले आफूसहित आठ मन्त्री नियुक्त गरेका थिए। त्यसमा कांग्रेसका कृष्ण तामाङ (खानेपानी, उर्जा तथा सिँचाइ) र शिवराज अधिकारी (विना विभागीय) समेत रहेका थिए ।
पछि अधिकारीलाई संस्कृति तथा पर्यटन मन्त्रालय दिइयो । एमाले कोटाबाट मधुसुदन पौडेल (कृषि तथा पशुपन्छी विकास), डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकास), भरत केसी (वन तथा वातावरण), जयरथ थापा (श्रम, रोजगार तथा यातायात) र बिन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन) नियुक्त भएका थिए ।

































