इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

काठमाडौं । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा बानियाँले ११० सदस्यीय प्रदेशसभामा आवश्यक बहुमत जुटाए ।

नेपाली कांग्रेसका बानियाँलाई कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदले समर्थन गरेका छन् । उनी बागमतीको छैठौं मुख्यमन्त्री बनेका हुन् । बानियाँ यसअघि संघीय सरकारमा गृह तथा पर्यटन राज्यमन्त्री भइसकेका छन् ।

बानियाँ मकवानपुरबाट प्रदेशसभा सदस्य छन् र यसअघि कांग्रेस संसदीय दलको नेता पनि रहिसकेका छन् । यसपटक उनले बहादुर सिंह लामाविरुद्ध दल नेताको पद जित्दै सत्ता सम्हाल्ने बाटो खोलेका थिए ।

बागमतीमा कांग्रेस-एमालेको २०-२० महिनाको सत्ता साझेदारीको सहमतिअनुसार बानियाँले अबको ८ महिना सरकारको नेतृत्व गर्ने छन् र त्यसपछि नेतृत्व एमालेलाई हस्तान्तरण गरिनेछ ।

Tokha