एमालेविना राष्ट्र सञ्चालन सम्भव छैन : ईश्वर पोखरेल

एमालेविना राष्ट्र सञ्चालन सम्भव छैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई आन्तरिक रुपमा सबल बनाएर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार काठमाडौं क्षेत्र नम्बर-५ मा आयोजित अखिल नेपाल महिला संघको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीलाई कमजोर बनाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट गरे ।

‘पार्टीले लिएका निर्णय र नीतिअनुसार नेता-कार्यकर्ता अघि बढ्नुपर्छ,’ उनले भने, ‘आजको परिस्थितिमा देशलाई अघि बढाउने शक्ति एमाले हो ।’ पोखरेलका अनुसार एमालेविनाको राष्ट्र सञ्चालन सम्भव छैन र देशलाई समृद्धिको मार्गमा लैजाने जिम्मेवारी एमालेकै काँधमा छ ।

उनले सामाजिक सञ्जालमार्फत पार्टीविरुद्ध भ्रामक प्रचार भइरहेको उल्लेख गर्दै त्यस्ता प्रचारप्रति सचेत रहन कार्यकर्तालाई आग्रह गरे ।

महिलाको हकहितमा एमालेको योगदान उल्लेखनीय रहेको दाबी गर्दै पोखरेलले महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्ने तथा आमाको नामबाट नागरिकता पाउने व्यवस्था एमालेकै पालामा सम्भव भएको बताए ।

Tokha