काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले काठमाडौंलाई राजधानी सहरजस्तो बनाउन आफूहरुको ठुलो भूमिका रहेको बताएका छन् । समृद्ध न्युजसँगको विशेष अन्तर्वार्ताका क्रममा उनले स्थानीय सरकार गठन हुनुअघि र अहिलेको अवस्थामा काठमाडौंको स्वरुप धेरै परिवतर्न भएको बताए । ‘यसरी काठमाडौंको स्वरुप परिवर्तन हुनुमा हाम्रो ठुलो भूमिका छ,’ उनले भने ।
ढकाल २०५४ र २०७४ सालमा वडासदस्य थिए । २०७९ को स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएर आएपछि जिम्मेवारी बढेको र वडावासीका आवश्यकता, सपना र अपेक्षालाई पुरा गर्न सक्ने स्थितिमा पुगेको उनले बताए ।
‘त्यहीअनुसार मैले वडाबासीको हकहितमा काम गरिरहेको छु,’ अध्यक्ष ढकालले भने, ‘शिक्षा, स्वास्थ्य, पूर्वाधार, सडक, पानी, सामाजिक चेतना, सांस्कृतिक संरक्षण, खेलकुदको प्रवर्धन र महिला सशक्तीकरणदेखि सीपमूलक तालिम र रोजगारी सिर्जना सम्मलाई विशेष जोड दिएको छु ।’
वडा नम्बर ३१ मा विकास पूर्वाधारको काम करिब-करिब सकिने अवस्थामा रहेको उनले बताए । ‘अब वडाको काम भनेको निर्माण भइसकेका पूर्वाधारको संरक्षण र सौन्दर्यीकरण हो,’ उनले भने, ‘वडालाई रंगीन र आधुनिक बनाउने अभियान हामीबाटै सुरु भएको हो, रंगीन गमलाहरू, चौतारा, फूल लगाउने काम, बाटाहरूको सौन्दर्यीकरण, फलफूल रोपण, फाल्चा निर्माणलगायतका सबै कामलाई हामीले पूर्णता दिनु छ ।’
वडा नम्बर ३१ ले सुरु गरेका कामलाई पछि महानगरका अन्य वडाले अनुकरण गरेको उनले बताए । अबको दुई वर्षमा सिंगो काठमाडौंलाई एक स्वच्छ, सफा र हराभरा सहर बनाउने गरी काम भइरहेको अध्यक्ष ढकालले बताए ।

































