काठमाडौं । बुढानीलकण्ड नगरपालिका वडा नम्बर ११ का अध्यक्ष राजु अधिकारीले शिक्षाको विकासबिना समृद्ध समाजको परिकल्पना गर्न नसकिने बताएका छन् । समृद्ध न्युजसँगको विशेष कुराकानीका क्रममा अध्यक्ष अधिकारीले भने, ‘शिक्षाको विकासबिना समृद्ध समाजको परिकल्पना गर्न सकिँदैन, त्यसकारण शिक्षालाई विशेष प्राथमिकता दिएका छौँ ।’
उनका अनुसार वडा नम्बर ११ मा १० वटा शैक्षिक संस्था छन् । तीनवटा सामुदायिक विद्यालयमध्ये एउटा विद्यालयमा इलेक्ट्रोनिक इन्जिनियरिङ जस्ता प्रविधिमूलक विषय पढाइ सुरु गरिएको छ । अन्य मावि विद्यालय हुन् ।
सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा दिनु चुनौतीपूर्ण रहेको उनले बताए । ‘हामीले सबै विद्यालयमा आवश्यक भौतिक संरचना कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याब निर्माण एवं सुधार गरेका छौँ,’ उनले भने, ‘विद्यालयमा स्मार्ट शिक्षा प्रणाली सुरु गरेका छौं । आज अधिकांश विद्यालयमा स्मार्ट बोर्डमार्फत शिक्षण सुरु भइसकेको छ । पुस्तकालय स्थापना गरिएको छ, विज्ञान र गणित प्रयोगशालाहरू निर्माण गरिएको छ, जसले विद्यार्थीलाई व्यावहारिक ज्ञानमा सहज भएको छ ।’
वडाको दोस्रो कार्यकाल नेतृत्व गरिरहेका अधिकारीले २०७४ सालमा सुरु गरेको कतिपय कामले दोस्रो कार्यकालका पूर्णता पाएको बताएका छन् । ‘पहिलो कार्यकालका बेला विकास निर्माणका काम र प्रशासनिक काम अस्तव्यस्त थिए, त्यसपछि प्रशासनिक कामहरु हामीले आफ्नै कार्यालयबाट गर्दै आयौँ,’ उनले भने, ‘त्यसबेला न सेवा प्रवाह नियमित थियो न त अभिलेख व्यवस्थापन नै प्रभावकारी थियो, अहिले सबै चुस्त भइसकेको छ ।’
वडाले खानेपानी समस्या समाधान गर्ने कुरालाई सबैभन्दा बढी प्राथमिकता दिएको उनले बताए । त्यसमा करिब सफलता हासिल भइसकेको वडाध्यक्ष अधिकारीले स्पष्ट पारे ।

































