प्रधानमन्त्री ओलीको प्रचण्डलाई जवाफ : ‘कीर्तिपुरमा फ्लडलाइट र प्यारापिट बन्दैछ, हेर्न जानुहोस्’

प्रधानमन्त्री ओलीको प्रचण्डलाई जवाफ : ‘कीर्तिपुरमा फ्लडलाइट र प्यारापिट बन्दैछ, हेर्न जानुहोस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यको प्रगति हेर्नका लागि प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेका छन् ।

प्रचण्डले सोमबार संसदमा सम्बोधन गर्दै रंगशालामा फ्लडलाइट र प्यारापिटको निर्माणमा ढिलाइ भएको भन्दै सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाएका थिए ।

प्रचण्डको प्रश्न, ‘कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट’ खोई प्यारापिट’ को जवाफमा प्रधानमन्त्री ओलीले फेसबुकमार्फत एक स्टाटस लेख्दै भनेका छन्, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’

प्रधानमन्त्री ओलीले प्रचण्डको कार्यकालमा कुनै पनि कामको समयसीमा तोकेर काम नगरेको र ठोस प्रगति नभएको भन्दै आलोचना गरेका छन् । ओलीले भनेका छन्, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन।’

ओलीले प्रचण्डलाई भने ‘न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम’ भएका नेताको संज्ञा दिएका छन्।’ यसको विपरीत, उनले आफ्नो कार्यकालमा भने दिन तोकेर काम गरेको र आफैँमाथि प्रश्न आह्वान गरेर काम गरेको दाबी गरेका छन् ।

‘मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें,’ ओलीले थपे, ’तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्यांक हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।’

यसअघि, प्रचण्डले संसदमा आफू नेतृत्वको सरकारले कीर्तिपुर रंगशालामा फ्लडलाइट जडानका लागि ठेक्का सम्झौता गरिसकेको तर त्यसपछि सरकारबाट बाहिरिएको बताएका थिए ।

उनले वर्तमान ‘शक्तिशाली दुई तिहाइको सरकार’ ले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गरेको स्मरण गराउँदै एक वर्ष बितिसक्दा पनि घोषणा कार्यान्वयन नभएको भन्दै सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाएका थिए ।

Tokha