काठमाडौं महानगरपालिका–३ को सार्वजनिक सनुवाइ सम्पन्न, ८० भन्दा बढीले गरे प्रश्न

काठमाडौं महानगरपालिका–३ को सार्वजनिक सनुवाइ सम्पन्न, ८० भन्दा बढीले गरे प्रश्न

काठमाडौं । ‘स्वर्गझैं सुन्दर समाज निर्माणका लागि, हाम्रा अनि तिम्रा पाइलाहरु लम्किरहेका छन्, अनगिन्ती सपना सजाएका हाम्रा भविष्यहरु, सफल बनाउन भेला भएका छौं आज हामी ।’

काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले शनिबार टिलिङ्गाटार प्रहरी चौकीनजिकैको सेफ हस्पिटालिटीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा सदस्य शर्मिला परियारले वडाबासीको स्वागतका लागि पस्किएका शब्दगुच्छाहरु हुन् यी । प्रश्न गर्न कार्यक्रम स्थलमा पुगेका जनसमुदायले उनको शैलीको तालीले अनुमोदन गरे ।

सार्वजनिक सुनुवाइ लोकतान्त्रिक अभ्यासको एक महत्वपूर्ण अंग हो, जसले सुशासन र विकास प्रक्रियालाई नागरिकमैत्री बनाउँछ । यो सरकारी वा सार्वजनिक निकायद्वारा आयोजना गरिने खुला बैठक हो, जहाँ नागरिकहरु प्रत्यक्ष सहभागी भएर ती निकायका गतिविधि, तिनले कार्यान्वयन गरिरहेका कार्यक्रम र आगामी योजनामाथि खरो ढंगले प्रश्न उठाउँछन्, जिज्ञासा राख्छन् ।

तर, हामीकहाँ निकै कम मात्र सार्वजनिक निकायले नागरिक सुनुवाइ गर्दै आएका छन् । मूलतः काम नगर्ने निकाय वा व्यक्ति नागरिकका प्रश्नको सामना गर्नबाट डराउँछन्, उनीहरु सार्वजनिक सुनुवाइ गर्नबाट पन्छिन्छन् । तर, शनिबारको कार्यक्रममा वडाका प्रतिनिधिले वडाबासीलाई गेटमा उभिएर हार्दिकतापूर्वक स्वागत गरे भने सेफ हस्पिटालिटीको खचाखच भरिएको सभाहलको पोडियमबाट खुलेर प्रश्न गर्न आह्वान गरे ।

कार्यक्रममा वडासचिव देवकी ढुंगानाले वडाले आर्थिक वर्ष २०८१/८२ मा गरेका कामहरुको विवरणबारे प्रकाश पार्नुका साथै सार्वजनिक सुनुवाइको महत्व र आवश्यकताबारे पनि जानकारी गराइन् ।

‘सार्वजनिक सुनुवाइले एकातिर वडा कार्यालयले यस आवमा सम्पन्न गरेका र आगामी आवका लागि अघि सार्न लागेका योजना र कार्यक्रमका बारेमा नागरिक स्तरमा जानकारी दिन्छ भने अर्कोतिर कर्मचारी र वडाको सार्वजनिक जवाफदेहिता खोजी गरी नागरिकमैत्री विकास र प्रशासन सुनिश्चत गर्छ,’ उनले भनिन् ।

२०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानले स्थानीय तहलाई थुप्रै अधिकार प्रदान गरेको छ । नेपालको संविधानको अनुसूची ८ ले स्थानीय तहलाई धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को उपधारा १ सँग सम्बन्धित २२ वटा अधिकार प्रदान गरेको छ ।

त्यस्तै कार्यक्रममा खेल क्षेत्रबाट प्रतिनिधित्व गरेकाहरुले खेल क्षेत्रको विकासका लागि विद्यालय तहदेखि नै जग बसाउनुपर्ने सुझाव दिएका छन् । रानीबारी टोलकी जुडो खेलाडी देवु थापाले खेल क्षेत्रले देशको गौरव बढाउने भएकाले त्यसैअनुसार योजना बनाउन वडा समितिलाई आग्रह गरिन् ।

काठमाडौं महानगरपालिका-३, सामाखुसीका बासिन्दा धर्म महर्जनले सामाखुसी क्षेत्रको ढलको समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिदिन वडाध्यक्ष प्रेम थापासमक्ष अनुरोध गरे ।

कार्यक्रमका धेरै सहभागीले वडाले गरेका विकास निर्माणका कामको मुक्तकण्ठले प्रशंसा गरेका छन् । काठमाडौं महानगरपालिका–३, सिर्जनशील टोलका अर्जुन गौतम, श्रीनगर टोलका थानेश्वर रेग्मीलगायतले वडाका कामले नागरिकलाई साँच्चै नै परिवर्तनको महसुस गराएको बताए ।

त्यस्तै कार्यक्रममा खेल क्षेत्रबाट प्रतिनिधित्व गरेकाहरुले खेल क्षेत्रको विकासका लागि विद्यालय तहदेखि नै जग बसाउनुपर्ने सुझाव दिएका छन् । रानीबारी टोलकी जुडो खेलाडी देवु थापाले खेल क्षेत्रले देशको गौरव बढाउने भएकाले त्यसैअनुसार योजना बनाउन वडा समितिलाई आग्रह गरिन् ।

४५० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा ३४ जनाले सभास्थलमै मज्जासँग आफ्ना कुरा राखे भने ५० भन्दा बढीले लेखेर बुझाए । विकास निर्माणका काममा खबरदारी गर्नुबाहेक उनीहरुको अर्को अभीष्ठ त्यहाँ देखिएन । शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, ढल, खानेपानी र गाउँटोलको सुरक्षाका विषयमा उनीहरुले वडाको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रम सहभागीले राखेका जिज्ञासा र प्रश्नको उत्तर दिन पोडियममा उभिँदा वडाध्यक्ष प्रेम थापा पनि निकै विश्वस्त देखिन्थे । २०७९ वैशाखमा वडाको नेतृत्वका लागि घरघर धाउँदै गर्दा नागरिकसँग गरेका प्रतिबद्धता पुरा वडा समिति अहोरात्र खटिएको स्मरण गरे । ३९ महिनाको अवधिमा आफ्नो टिमले गरेको कामबारे भन्नु भन्दा नगरको भ्रमण अवलोकन गरेर अनुभव लिन र रिजल्ट हेर्न उनले आग्रह गरे ।

‘व्यक्ति परिवर्तन भएपछि व्यक्तिको सोच परिवर्तन हुन्छ, सोच परिवर्तन भएपछि काम गर्ने शैलीमा परिवर्तन हुन्छ, हामी टिमवर्कमा विश्वास गछौं, वडाध्यक्ष केही होइन, वडाध्यक्ष भनेको भुइँमान्छे हो, जो तपाईंहरुको मन र मतको प्रतिनिधित्व हो, तपाईंहरुले प्रत्यक्ष अनुभूत गर्ने काम हामी गर्छौं,’ उनले भने ।

कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा वडा कार्यालयले चालुतर्फ विनियोजन गरेको एक करोड ९४ लाख ९६ हजारमध्ये एक करोड ५७ लाख ८७ हजार तथा पुँजीगततर्फ विनियोजन गरेको १६ करोड ३२ लाखमध्ये १० करोड ८ लाख रुपैयाँ खर्च भएको जानकारी दिइएको छ । वडा समितिको निर्णयमा वडाले महानगर स्तरीय र वडा स्तरीय गरी दुई प्रकारका आयोजना सञ्चालन गर्ने गर्छ ।

Tokha