स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार स्पेनको मड्रिडस्थित विश्वप्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको अवलोकन गरेका छन् । क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै रंगशालाको भ्रमण गराएका हुन् ।
प्रधानमन्त्री ओलीले आफू रियल मड्रिडको प्रशंसक रहेको र यस्तो सुविधासम्पन्न रंगशाला देखेर खुसी लागेको बताए । निर्देशक मिगेलले प्रधानमन्त्री ओलीलाई क्लबको जर्सी उपहार दिए भने नेपाली विद्यार्थीहरूलाई क्लबको तालिम तथा भर्नामा सहभागी हुन प्रोत्साहन पनि गरे ।

संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलनमा सहभागी हुन सेभिया पुगेका प्रधानमन्त्री ओली हाल मड्रिडमा विभिन्न कार्यक्रममा व्यस्त छन् ।
रंगशाला अवलोकनका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, र स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायतका अधिकारीहरू उपस्थित थिए ।

































